नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठक

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा व्यापार, लगानी र पारस्परिक लाभका विषयमा छलफल भएको छ । मंगलबार सम्पन्न बैठकले नेपाल–फ्रान्स ग्रिन रोडम्याप स्वीकृत गरेको छ । जसमा अन्य क्षेत्रमा नवीकरणीय ऊर्जा आयोजनाको विकास, न्यून कार्बनयुक्त र उत्थानशील पूर्वाधारमा लगानी, वन संरक्षण, प्राकृतिक प्रकोप रोक्न कार्य गर्ने र जलवायु परिवर्तन अनुकूलनलाई राष्ट्रिय, स्थानीय तहमा समावेश गर्ने विषयलाई जोड दिएको छ । 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल र फ्रान्सको परराष्ट्र मन्त्रालयका एसिया तथा ओसियानियाका निर्देशक बर्टान्ड लोर्थोलरीले नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी सहभागी थिए । फ्रान्सेली प्रतिनिधिमण्डलमा नेपालका लागि फ्रान्सका राजदूत र कूटनीतिक अधिकारी सहभागी थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका थिए । ‘बैठकमा द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्ने, पारस्परिक लाभका लागि प्रविधि हस्तान्तरण र पर्यटनका साथै कोभिड– १९ महामारीपछिको आर्थिक पुनरुत्थानका उपायबारे छलफल भएको थियो,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सुझावित समाचार