बागमती गोल्डकपको उपाधि भुट्निजलाई

फाइनलमा संकटा सडन डेथमा पराजित

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

संकटा क्लबसँग आहा-रारा गोल्डकपको फाइनल खेलको बदला लिँदै अमेरिकाको भुट्निज स्पोर्टसले पाँचौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता–०७९ को उपाधि जितेको छ । 

भुट्निज स्पोर्टसले संकट क्लबलाई सडन डेथमा पराजित गर्दै गोल्डकपको उपाधि उचालेको हो । भुट्निजले निर्धारित र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा संकटालाई रोक्दै उपाधि जितेको हो । 

संकटालाई उपविजेतामै सीमित गर्ने क्रममा भुट्निजका गोलरक्षक पूजन थापामगरले उत्कृष्ट प्रदर्शन गरे । उनले संकटाका सुरजज्यू ठकुरीको पेनाल्टी प्रहार मात्रै रोकेनन्, अन्तिममा पेनाल्टी प्रहार गर्दै आफ्नो टोलीलाई जितसमेत दिलाए ।

भुट्निजका आठ खेलाडीको पेनाल्टी गोलमा परिणत हुँदा संकटाका सात खेलाडीको मात्र पेनाल्टी प्रहार गोलमा परिणत भयो । ठकुरीको प्रहार पुजन थापा मगरले बचाउ गरेका थिए । 

भुट्निजका गोलरक्षक मगर खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । 

टाइब्रेकरमा भुट्निजको तर्फबाट मिग्युल, धीरज, आर्मेनल, रिले, हेक्टरले गोल गरेका थिए भने सडेनडेथमा प्रवीण बस्नेत, विल्स र पूजन थापामगरले गोल गरे । 

संकटाका लागि सुनील बल, सरोज दाहाल, मनीष डाँगी, मेसुके र आयुष घलानले गोल गरे । सडेनडेथमा संकटाका स्टेफन समीर र कुलदीप कार्कीले गोल गरे ।

बागमती गाउँपालिका–८ स्थित जनता माविको खेल मैदानमा भएको खेलको निर्धारित समयमा भुट्निज स्पोर्टसका लागि प्रवीण बस्नेत र संकटाका लागि सुनील बलले दुई-दुई गोल गरेका थिए । 

खेलको १०औँ मिनेटभित्र भुट्निजले दुई गोलको अग्रता बनाए पनि जितको लागि सडेनडेथसम्म पुग्नुपरेको थियो । भुट्निजका लागि प्रवीणले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । 

उनले नै छैठौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । तर, संकटाका सुनील बलले खेलको १०औँ र २० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

सुनीलले पहिलो गोल हेडरमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । त्यसपछि निर्धारित समयभित्र र थपिएको समयमा पनि दुवै टिमबाट गोल हुन सकेन । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका संकटाका सुरजज्यू ठुकुरीले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

यस्तै, भुट्निजका गोलरक्षक पूजन मगर, फरवार्ड प्रवीण बस्नेत र प्रशिक्षक प्रदीप हुमागाईं तथा संकटाका डिफेन्डर कुलदीप कार्की र मिडफिल्डर सुनील बल उत्कृष्ट घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

यो जितसँगै बागमती गोल्डकपले नयाँ विजेता प्राप्त गरेको छ । दुवै टोली यस प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलोपटक हो । 

२४ पुसबाट सुरु भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब, दुई स्थानीय र एक विदेशी टिमको सहभागिता रहेको थियो । यसअघिको चौथो संस्करणको उपाधि विजेता टोली थ्री स्टार क्लब भने यसपटक प्रतियोगितामा सहभागी भएको थिएन । 

सुझावित समाचार