मोफसलको अन्तर्राष्टिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ। २०७६ सालमा सम्पन्न २२औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा प्रतियोगिता आयोजना हुन सकेको थिएन। प्रतियोगिता यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ।
कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताका लागि धरान उपमहानगरपालिका र प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले बताए। उनका अनुसार प्रतियोगितामा सदाझैँ ८ वटा ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। भारतको दुईसहित काठमाडौंका दुई, पोखराको एक र प्रदेश १ बाट आयोजकसहित तीनवटा क्लब सहभागी हुने तय भएको अध्यक्ष राईले बताए।
एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको आयोजक क्लबले जनाएको छ। दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालाहरूसँग छलफल सुरु गरिएको अध्यक्ष राईले बताए। आर्थिक अभावले २२औँ संस्करणको बक्यौता पनि भर्खरै मिलाउने काम भइरहेको आयोजकले जनाएको छ।
अध्यक्ष राईका अनुसार २३औँ संस्करण समापन गरेर क्लबको नेतृत्व हस्तान्तरण गर्ने तयारी भइरहेको छ। २२औँ संस्करण २०७६ फागुनमा भएको थियो। प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब विजयी भएको थियो।