भारतका पूर्वकप्तान विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ४६औँ शतक प्रहार गरेका छन् । कोहलीले आइतबार केरलामा भएको श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शतकीय इनिङ्स खेलेका हुन् । शतकसँगै कोहली एकदिवसीय खेलमा सर्वाधिक शतक प्रहार गर्ने सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमानी शतकनजिक पुगेका छन् । सचिनले एकदिवसीय खेलमा कीर्तिमानी रूपमा ४९ शतक बनाएका छन् । सचिनको रेकर्ड बराबरी गर्न कोहलीलाई तीन शतक आवश्यक छ ।
कोहलीले आफ्नो ४६औँ एकदिवसीय शतक ८५ बलमा प्रहार गरेका थिए । उनले एक सय ६६ रनको नटआउट इनिङ्स खेले । उनले ११० बलमा १३ चौका र आठ छक्का प्रहार गरे । विश्व क्रिकेटमा सचिन सर्वाधिक शतक प्रहार गर्ने सूचीको शीर्ष स्थानमा छन् । उनले ५१ टेस्ट गरी समग्रमा सय शतक हिर्काएका छन् । एकदिवसीय खेलमा सचिन सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।
उनले सन् १९८९ देखि २०१२ सम्म खेल्दा चार सय ६३ खेल खेले । यसक्रममा उनले विश्व कीर्तिमानी रूपमा १८ हजार दुई सय २६ रन बटुले । उनले ९६ अर्धशतक बनाए । एकदिवसीय खेलमा पहिलो दोहोरो शतक लगाउने सचिन हुन् ।
भारतको कीर्तिमानी जित
भारतले तेस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार श्रीलंकामाथि तीन सय १७ रनको कीर्तिमानी जित निकालेको छ । भारतले पहिलो ब्याटिङ गर्दैै ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलंकाले २२ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्र बनायो । भारतले सन् २००८ मा न्युजिल्यान्डले राखेको रेकर्ड तोडेको छ । न्युजिल्यान्डले आयरल्यान्डलाई दुई सय ९० रनले पाखा लगाएको थियो ।
एकदिवसीय खेलमा भारतले कुनै पनि राष्ट्रविरुद्ध धेरैपटक जित निकालेको रेकर्ड राखेको छ । भारतले श्रीलंकालाई एकदिवसीय खेलमा सर्वाधिक ९६ पटक हराएको छ । अहिलेसम्म भारत र श्रीलंकाबीच एक सय ६५ पटक प्रतिस्पर्धा भएको छ ।