साझा स्वास्थ्य सेवामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । १० वर्षसम्म हुन नसकेको साझा स्वास्थ्य सेवाको १५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको हो ।
साझाका महाप्रबन्धक चूडामणि भण्डारीका अनुसार शुक्रबार भएको निर्वाचनबाट साझा स्वास्थ्य सेवाको अध्यक्षमा हिमबहादुर क्षेत्री निर्वाचित भएका छन् । सञ्चालक समिति सदस्यहरूमा शिवप्रसाद भट्टराई, शम्भुप्रसाद घिमिरे, श्रीपा श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा ताराप्रसाद घिमिरे निर्वाचित भएका छन् । सो समितिका सदस्यहरूमा रवि गोर्खाली र खिमाराम लम्साल निर्वाचित भएका छन् ।
सहुलियत दरमा जनतालाई औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने भन्दै २०२१ सालमा स्थापित साझा स्वास्थ्य सेवामा नेपाल सरकारको ५८ प्रतिशत सेयर स्वामित्व छ । त्यसैले पनि अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सहकारी विकास बोर्डबाट एक–एकजना प्रतिनिधि पदेन सदस्य हुने व्यवस्था छ । यस्तै, भूमि व्यवस्थाबाट एकजना प्रतिनिधि नियुक्ति हुने व्यवस्था छ ।
महाप्रबन्धक भण्डारीका अनुसार साझाको अहिले आठवटा शाखा र २७ वटा बिक्री केन्द्र रहेको छ । तर, व्यवस्थापन भएको लापरबाहीका कारण यो संस्था आर्थिक घाटामा रहेको छ । ‘अहिले पनि १५ करोडजति घाटामा छ,’ उनले भने । साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मी, संस्थाका अध्यक्ष तथा मन्त्रालयका सहसचिव नीराजन घिमिरे, सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितलगायतको सहभागिता थियो ।