उपत्यकाका निर्माणाधीन सडक निर्धारित समयमै सक्न निर्देशन

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

भौतिकमन्त्री श्रेष्ठको चेतावनी– समयमै काम नसके कारबाही

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक पूर्वाधार अलपत्र पार्ने ठेकेदारलाई समयमै सडक पूर्वाधार सक्न निर्देशन दिएका छन् । बिहीबार भौतिक मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा भएको बैठकमा उनले निर्माण व्यवसायीलाई समयमै काम सक्न समयसीमासमेत दिएका छन् । बैठकमा सहभागी निर्माण व्यवसायीहरूले तोकेको समयकै काम सक्ने लिखित सहमति गरेका छन् । उनीहरूले आयोजनाका सहजता र जटिलताबारे मौखिक रूपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे । 

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणलाई महत्व दिएर उद्योगका रूपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न आग्रह गरे । उनले अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रति नकारात्मक दृष्टिकोण रहेकाले त्यसलाई सुधार गर्न पनि जरुरी रहेको भन्दै समयमै काम सक्न निर्देशन दिए । ‘हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नुपर्छ,’ उनले भने । 

काम सकेपछि भत्काएको ठाउँ जस्ताको तस्तै बनाइदिने सहमति 
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौंका सडकमा भइरहेका विभिन्न निर्माण गतिविधिले पारेको समस्या समाधानका लागि सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका छन् । बिहीबार दिउँसोको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरू सहभागी थिए । 

उपप्रधानमन्त्रीले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । एउटा निकायले बनाएको सडक, अर्को निकायले भत्काउँदा त्यसले जनतामा नकारात्मक असर परेको भन्दै अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

काठमाडौंमा निर्माणाधीन सडक र व्यवसायीको प्रतिबद्धता 
- महाँकाल–तेन्जिङचोक–बुढानीलकण्ठ सडक 
निर्माण व्यवसायी : तुदि/प्रेरा जेभी बागडोल 
सम्पन्न गर्ने प्रतिबद्धता : माघ मसान्त ०७९ 

- कपन साततले–अकासे धारा–बालुवाखानी सडक  
निर्माण व्यवसायी : दिवा/शैलुङ जेभी  
सम्पन्न गर्ने प्रतिबद्धता : १५ फागुन ०७९ 

- अकासे धारा–राम मन्दिर–कृष्ण मन्दिर सडक  
निर्माण व्यवसायी : शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि 
सम्पन्न गर्ने प्रतिबद्धता : १५ फागुन ०७९ 

- सीतापाइला–रामकोट–भीमढुंगा सडक 
निर्माण व्यवसायी : आशिष सिएम जयबाबा जेभी
सम्पन्न गर्ने प्रतिबद्धता : माघ मसान्त ०७९ 

- पेप्सीकोला–ब्रह्मखेल सडक
व्यवसायी : महालक्ष्मी/वल्र्डवाइड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिबद्धता : असार मसान्त ०८०

- मित्रपार्क–नयाँबस्ती–जोरपाटी सडक
निर्माण व्यवसायी : सुनकोसी/प्रजिल जेभी
सम्पन्न गर्ने प्रतिबद्धता : माघ मसान्त ०७९ 

भक्तपुरका सडक आयोजना
- कमलविनायक बसपार्कदेखि भत्केपाटी सडक
निर्माण व्यवसायी : लोहनी एन्ड ब्रदर्स/लालीगुराँस 

- मनोहरा खोला पुल–इन्द्रायणी–चाँगुनारायण सडक 
व्यवसायी : लामा/साल्पा शेर्पा/जयबाबा गोरख जेभी

- हनुमन्ते खोला–बहाखा बजार सडक 
निर्माण व्यवसायी : सुनौला खिम्ती कन्स्ट्रक्सन

- लोकन्थली हेल्थपोस्ट–रमाइलो चोक–चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य 
निर्माण व्यवसायी : सुनौला खिम्ती कन्स्ट्रक्सन

ललितपुरका सडक आयोजना
- एलङ छम्पी–टीकाभैरव रोड 
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिबद्धता : चैत मसान्त ०७९ (पुलबाहेक)

- तउखेल–चापागाउँ छम्पी–डुकुछाप दक्षिणकाली रोड 
निर्माण व्यवसायी : ड्रागन–महर्जन जेभी, काठमाडौं 
सम्पन्न गर्ने प्रतिबद्धता : चैत मसान्त ०७९ 

- लुभु–लाँकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी : पिएम/महर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिबद्धता : चैत मसान्त ०७९ 

- ललितपुर मनपा–१५, खुमलटार–युलेन्स स्कुल  
निर्माण व्यवसायी : रानीवन कन्स्ट्रक्सन, काठमाडौं 
निर्माण सम्पन्न गर्ने प्रतिबद्धता : चैत मसान्त ०७९ 

- आरसिसी ब्रिज ओभर नख्खु खोला 
निर्माण व्यवसायी : महर्जन निर्माण सेवा, ललितपुर 
निर्माण सम्पन्न गर्ने प्रतिबद्धता : आसार मसान्त ०८० 

सुझावित समाचार