बागमती गोल्डकप : त्रिभुवनलाई रोक्दै हिमालयन शेर्पा सेमिफाइनलमा

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौँ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा रोक्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

जारी प्रतियोगिताको मंगलबारको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा हिमालयनले त्रिभुवन आर्मीलाई ४–२ गोलअन्तरले पराजित गरेको हो ।

हिमालयनका लागि विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र विदेशी खेलाडी इरेक वेलीले गोल गर्दा आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले मात्रै गोल गर्न सके । आर्मीका दिनेश हेम्जनको प्रहार बाहिरिएको थियो भने कमलबहादुर थापाको प्रहार हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले बचाउ गरेका थिए ।

यसअघि निर्धारित समयमा आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको २२औँ मिनेटमा पेनाल्टीमार्फत र हिमालयनका प्रिन्सले ५८औँ मिनेटमा गोल गरेका थिए । मंगलबारको खेलमो म्यान अफ दी म्याच हिमालयनका गोलरक्षक दीप कार्की भए । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरेका छन् ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार नेपाल एपिएफ र मच्छिन्द्र क्लबबीच खेल हुनेछ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेता टिमले नगद चार लाख प्राप्त गर्नेछ ।

सुझावित समाचार