दर्शकका रुचि बदलिरहेको छ । हामीले दक्षिण कोरियाको ‘स्क्विड गेम’, फ्रान्सको ‘लुपिन’ र ‘ब्लड सिस्टर्स’, इवोनी लाइफ टिभीको नाइजेरियन शृंखलाको वैश्विक प्रभाव देख्न थालेका छौँ । ती टिभी शृंखला नेटफ्लिक्समा राखिएको पहिलो हप्ता विश्वभर हेरिएका सोको शीर्ष दश स्थानमा परे । एसिया, अफ्रिका र युरोपका सामग्रीले सिर्जना गरेका नयाँ स्वादले हलिउडको प्रभुत्व घटाइरहेको छ भने सम्पूर्ण क्षेत्रका स्वतन्त्र उत्पादनका लागि समान खेलमैदान निर्माण गरिरहेको छ । अहिले विश्वव्यापी सब्स्क्रिप्सन र तथ्यांक उपभोगको समय छ । यसले प्रमुख मिडिया सञ्चालकले हामीलाई गम्भीरताका साथ लिन थालेका छन् ।
म नाइजेरिया बेलायतको शासनबाट स्वतन्त्र भएको चार वर्षपछि सन् १९६४ मा लन्डनमा जन्मिएँ । नाइजेरियामा औपनिवेशिक शासनको सांस्कृतिक प्रभुत्व परित्याग गर्ने प्रक्रिया सुरु भएको थियो । सात वर्षको उमेरमा नाइजेरियामा रहेका आफ्ना परिवारलाई भेट्न लागोस जाँदा त्यहाँ ठूलो आशा र उत्साहको माहोल देखेको थिएँ । दुर्भाग्यवश, मेरो परिवारमा आएको एक परिवर्तनले गर्दा म छिट्टै बेलायत फर्किनुप¥यो । बेलायतमा एक अश्वेत युवतीका रूपमा मेरो आदर्शको खोज एक प्रकारले संघर्षपूर्ण थियो । टिभी, फिल्म वा म्यागजिनमा मेरो समुदायका कोही पनि सकारात्मक पात्र हुन्थेनन् । सन् १९६० र ७० को दशकमा टिभी तथा फिल्ममा देखिने अधिकांश अश्वेत अभिनेताहरू प्रायः आपराधिक समूहका सदस्य, ड्रग डिलर वा नगरवधुका रूपमा प्रस्तुत गरिन्थे । त्यसबाहेक उनीहरू ऐतिहासिक कथामा दासदासी, गाडीचालकका रूपमा प्रस्तुत गरिन्थ्यो । म हुर्कंदै गर्दा, बेलायतका उल्लेखनीय अश्वेत पत्रकार बार्बरा ब्लेक हन्ना र सर ट्रेभर म्याकडोनाल्डबाहेक टेलिभिजनमा मैले चिन्न सक्ने लगभग कोही थिएनन् ।
मलाई उत्साहित बनाएको पहिलो टेलिभिजन शृंखला ‘फेम’ थियो । लामो समय चलेको यो ड्रामा सिरिजले संगीतकार, अभिनेता र नतर्क बन्ने सपनामा बोकेका न्युयोर्कको प्रसिद्ध ‘हाई स्कुल अफ परफर्मिङ आर्टस्’का विद्यार्थीको कथा भन्छ । टेलिफिल्ममा अविश्वसनीय रूपमा विविधता देखिएको थियो । अश्वेत, यहुदी, हिस्पानिक र सेतो वर्णका कलाकारहरू नश्लभन्दा पनि भन्दा पनि तिनको प्रतिभाका आधारमा छनोट भएका थिए । हरेक हप्ता टिभीमा यी सुन्दर युवा प्रतिभा हेर्दा १८ वर्षे किशोरकालमा हिँडिरहेकी ममा गहिरो प्रभाव पथ्र्यो । फेमले नै मलाई नर्तक बन्न प्रेरित गरेको थियो, भलै त्यो महŒवाकांक्षा मेरी बकवास मन नपराउने आमाले थाहा नपाएसम्म मात्र कायम रह्यो ।
सन् १९९४ मा ३० वर्षको उमेरमा म र मेरा श्रीमान् नाइजेरिया फर्कने निर्णय ग¥यौँ । त्यतिवेला नाइजेरियाका अधिकांश टेलिभिजन कार्यक्रमका सामग्री ब्रिटिस र अमेरिकाबाट आयातित हुन्थे । तर, परिवर्तनको माहोल निर्माण हुँदै थियो । स्थानीय फिल्म निर्माताले मौलिक नाइजेरियाली सामग्री सिर्जना गर्न थालेका थिए । फिल्ममा अब नाइजेरियाली भाषा, हाँसोठट्टा, चालचलन र विश्वासहरू समावेश हुन थाले । तथापि टेलिभिजन र भर्खर हुर्कंदै गरेको फिल्म उद्योगमा प्रगति सुस्त थियो । सन् २००६ मा मैले ‘मोमेन्ट विथ मो’ सुरु गर्दा त्यो पहिलो प्यान–अफ्रिकी टक–सो (सम्पूर्ण अफ्रिकालाई सामेटिएको) थियो । आगामी एक दशकसम्म उक्त सो त्यस प्रकारको एक मात्र सो रह्यो ।
सांस्कृतिक परिवर्तन महसुस गर्दै, मैले आफ्नै एक अलग टेलिभिजन च्यानलको सपना देख्न थालेँ । जारी क्रान्तिमा मैले आफ्नोतर्फबाट पु¥याउन सक्ने योगदान मिडियामार्फत मानसिकता परिवर्तन गर्ने कुरामा देखेँ । वर्षौँको संघर्ष, कडा परिश्रम र मेरो दृष्टिकोणमा विश्वास गर्ने कैयौँ व्यक्तिको योगदानपछि सन् २०१३ मा इबोनी लाइफ टिभीको अफ्रिकाभर प्रसारण सुरु भयो । सन् २०१५ बाट चलचित्र ‘फिफ्टी’मार्फत इबोनी लाइफ फ्लिम्सको जन्म भयो । यस फिल्म निर्माण कम्पनीले नाइजेरियन बक्स अफिस इतिहासको सबैभन्दा धेरै कमाउने तीन फिल्म बनाइसकेको छ । पाँच वर्ष र सात हिट फिल्मपछि, हामी आफैँलाई पुनः परिभाषित गर्ने स्थानमा छौँ । अब हामी अफ्रिकी कथाहरूलाई अन्तर्राष्ट्रिय दर्शकहरूका सामु विश्वव्यापी सेटिङमा राख्न चाहन्छौँ ।
यस परिवर्तनलाई स्ट्रिमिङको द्रुत वृद्धिले सम्भव भएको छ । महामारीको समयमा भएको स्ट्रिमिङ सेवाको मूलधारीकरणले करोडौँ मानिसलाई ती संस्कृतिका फिल्म र सिरिजबारे परिचित गरायो, जुन विगतमा बेवास्तामा पर्दै आएका थिए । यो नयाँ सांस्कृतिक रचनामा दर्शकले प्रत्येक हप्ता टेलिशृंखलाको नयाँ एपिसोड पर्खनुको साटो सप्ताहन्तमा एकैपटक हेर्न सक्ने भएका छन् । सन् २०२१ मा हामीले विश्वका केही ठूला स्टुडियो सोनी पिक्चर्स टेलिभिजन, एएमसी, लायनगेट, बिबिसी स्टुडियोज, विल पेकर प्रोडक्सन्स र जेडा पिन्केट–स्मिथ र विल स्मिथको वेस्टब्रुक स्टुडियोजलगायतसँग साझेदारी सुरु गरेका छौँ । १७औँ शताब्दीको नाटक ‘क्विन जिंगा’देखि समकालीन कला चोरीको कथा बोकेको ‘रिक्लेम’सम्म र भविष्यमुखी थ्रिलर ‘नाइजेरिया २०९९’ सम्मका यी परियोजनाको दायरा अफ्रिकी स्वतन्त्र फिल्म कम्पनीका लागि अभूतपूर्व छ ।
परिदृश्य बदलिएको छ । उदाहरणका लागि दाहोमी योद्धाहरूको कथालाई नै हेर्नुहोस् । १८औँ शताब्दीको पश्चिम अफ्रिकी अधिराज्य दाहोमीका राजाका अंगरक्षक रहेका हजार बलिष्ठ नारी फौज दाहोमी योद्धाको कथाबारे मैले २०१४ देखि नै विचार गरिरहेको थिएँ । संसारले दाहोमी योद्धाको कथालाई ठूलो पर्दामा हेर्न पाउनुुपर्छ लागेदेखि यो कथा बिकाउने प्रयास गरेँ । तर, यससम्बन्धी कथामा कोही फिल्म बनाउन तयार देखिएनन् । त्यसपछि सन् २०१८ मा अश्वेत कलाकारको बाहुल्य रहेको ‘ब्ल्याक प्यान्थर’ प्रदर्शनमा आयो । संसारभर राम्रो व्यापार गरेर यस फिल्मले एक परिस्थिति सिर्जना गरिदियो । फिल्ममा वास्तविक दाहोमी योद्धामा आधारित एक बलियो सैन्य पात्र डोरा मिलाजे प्रस्तुत गरिएको थियो । ब्ल्याक प्यान्थरले सिर्जना गरेको प्रभावको कारण यस वर्ष सेप्टेम्बरमा भायोला डेभिसको मुख्य भूमिकामा ‘द वुमन किङ’ आयो । फिल्मले दाहोमी योद्धाको अद्भुत इतिहासको एक रोचक अंश प्रस्तुत गरेको छ । अब सोनी पिक्चर्स टेलिभिजनको सहकार्यमा इबोनी लाइफ स्टुडियोजले ‘द दाहोमी वारियर्स’ नामका यी ऐतिहासिक महिलालाई हाम्रो आफ्नै टिभी शृंखलाका रूपमा प्रस्तुत गर्दै छौँ ।
यो परिवर्तन फिल्म र टेलिभिजनमा मात्र सीमित छैन । के–पप (कोरियन पप) जस्तै नाइजेरियाली ‘अफ्रोबिट्स’ले धेरै देश प्रवेश पाएको छ । संगीत स्ट्रिमिङको साहसी नयाँ संसारको सहयोगमा नाइजेरियाली कलाकार विजकिड, डेभिडो र वर्ना वोयका संगीत न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेन र लन्डनको इद्द एरिना तथा रोयल अल्बर्ट हलमा समेत सुनिन थालेको छ । कुनै समय ती लागोसको बलौटे समुद्री तटमा मात्र सुनिन्थ्यो । परिवर्तनको हावा बदलिएको छ र अब यो पहिलेको अवस्थामा फर्किने छैन । चलचित्र होस् या गीत होस्, कथ्य सधैँका लागि परिवर्तन भएको छ । तर, यी सम्पूर्ण प्रगतिका बाबजुद ‘टोकनिजम’ अझै कायम छ । केही फिल्म स्टुडियो समावेशी देखाउन मात्र त्यस्ता केही फिल्म बनाइरहेका छन् । तर, केहीले विश्वभर नखुलेका तथा बाहिर आउनै पर्ने कथाप्रति बढ्दो आकर्षणलाई परिपूर्ति गर्नु महŒवपूर्ण छ भन्ने बुझेका छन् । यस्तै, केही कथाले ‘ब्ल्याक प्यान्थर’ले जस्तै पुराना प्रतिमानहरू चकनाचुर पार्ने क्षमता राख्छन् ।
आज, जब म साना अश्वेत नानीहरू तिनका घरबाट टाढा रहेर आत्मसम्मान दब्ने वातावरणमा हुर्किरहेको कल्पना गर्छु, तब म आशा गर्छु कि परिवर्तनको यस लहरले तिनका आत्मसम्मानलाई बढावा दिनेछ र मैले देख्न सक्नेभन्दा ठूला सपनालाई मलजल गर्नेछ । म चाहन्छु कि आजका युवतीहरूले हामीले सुनाइरहेका कथाहरूमा आफूलाई देखून् । साथै, तिनबाट छनोट गर्ने, लड्ने र सपना देख्ने शक्ति पाऊन् । म यो नयाँ वास्तविकता सिर्जना नगएसम्म सम्भावनाका नयाँ ढोकामा ढकढकाइरहनेछु र अवरोधहरू भत्काइरहनेछु । आखिर यो हरेक जवान युवतीले पाउनुपर्ने न्यूनतम कुरा न हो ।
(मो अबुदु टेलिभिजन निर्माता, चलचित्र निर्माता र इबोनी लाइफ मिडियाकी संस्थापक र सिइओ हुन्)