डोल्पाबाट रुकुम पश्चिमको गोतामकोट जाने जिपहरुले छतमा समेत मान्छे राख्ने गरेपछि दुर्घटनाको जोखिम बढेको छ।
जिप व्यवसायीहरुले पैसाको लोभमा सिट क्षमताभन्दा बढी हुने गरी छतमा समेत यात्रु राख्ने गरेपछि दुर्घटनाको जोखिम बढेको हो। जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने त्रिपुराकोट–गोतामकोट खण्डमा व्यवसायीहरुले जिपको छतमा समेत भरिभराउ यात्रु राख्ने गरेका छन्।
जिप व्यवसायीको मनोमानीका कारण त्रिपुराकोट–गोतामकोट सडकखण्डमा दुर्घटनाको जोखिम बढेको सुर्खेतबाट डोल्पा आएका यात्रु बालमुकुन्द आचार्यले बताए। ‘एउटा जिपले खासमा १२ देखि १४ जनासम्म बोक्न मिल्छ। तर, धान्नै नसक्ने गरी २२ जनासम्म ओसारिरहेका छन्,’ उनले भने, ‘एकातिर कच्ची बाटो, अर्कोतिर जोहो गरेर चलाइएका थोत्रा गाडी।’
यसरी जिप व्यवसायीले मनोमानी ढंगबाट यातायात चलाइरहँदा डोल्पा र रुकुम पश्चिमका प्रहरी प्रशासन रमिते भएर बसेको यात्रुहरु बताउँछन्। गत मंगलबार डोल्पा जाने क्रममा सिट क्षमता भन्दा धेरै मान्छे राखेकै कारण रुकुम पश्चिमको ज्यामिरेमा एउटा जिपको स्टेरिङ फेल भएको थियो। भाग्यबस ठुलो दुर्घटना नभएको भन्दै उनले यात्रुहरुसँग समेत अन्य विकल्प नभएको गुनासो गरे।
यस सडकखण्डमा जिप व्यवसायी र चालकहरुले भाडासमेत मनोमानी हिसाबले उठाइरहेका छन्। त्रिपुरासुन्दरी नगरपालिकाका युवा जयस उपाध्यायले पैसाको लोभमा यसरी छतमासमेत भरिभराउ मान्छे ओसार्दा दुर्घटना भएर ठुलो मानवीय क्षति हुनसक्ने बताए। यस विषयमा प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्ने उनको भनाइ छ। जिप व्यवसायीले पनि अत्यन्तै पुराना गाडीहरु चलाइरहेकाले त्यस्ता गाडीहरु विस्थापित गर्नुपर्ने उनले बताए।
यता डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी सिट क्षमताभन्दा धेरै मान्छे राखेको पाइए तुरुन्तै समातेर थुन्न निर्देशन दिएको बताउँछन्। यस विषमयमा पटकपटक प्रहरीमार्फत् सचेत गराउँदा पनि व्यवसायीले अटेरी गरिरहेको उनको भनाइ छ।