ईश्वरले नदेख्ने ढोका छैन

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

एकपटक लन्डनमा महान् नाटककार विलियम सेक्सपियरको चर्चित नाटक म्याक्बेथको मञ्चन भइरहेको थियो । उनको सो नाटक हेर्न हरेक दिन दर्शक खचाखच उपस्थित हुन्थे । त्यतिखेर उच्च सम्भ्रान्त भनिएका वर्गका लागि नाटक हेर्नु राम्रो मानिन्नथ्यो । त्यसैले नाटकका दर्शक प्रायः सामान्य वर्गका मानिस नै हुने गर्थे ।

धार्मिक संस्थाका पुजारी या पादरीका लागि त नाटक हेर्नु पूर्णतः प्रतिबन्धितजस्तै थियो । त्यसैले, उनीहरू नाटक हेर्न कहिल्यै उपस्थित हुँदैनथे । म्याक्बेथ दिनदिनै चर्चित हुँदै थियो । लन्डनका एक प्रसिद्ध चर्चका पादरीले पनि नाटक हेर्ने दर्शकको मुखबाट नाटकको चर्चा सुनेका थिए ।

उनलाई पनि नाटक हेर्ने रहर थियो । तर, रंगमञ्चमा उपस्थित भएर नाटक हेर्न उनलाई सहज थिएन । सबैबाट लुकेर रंगमञ्चमा प्रवेश गरी नाटक हेर्न पाए आफूलाई कसैले पनि चिन्दैनथे र नाटक हेर्ने आफ्नो रहर पनि पूरा हुने थियो भन्ने उनलाई लाग्यो । उनले रंगमञ्चका प्रबन्धकलाई एउटा पत्र लेखे । त्यसमा लेखिएको थियो– आदरणीय प्रबन्धकज्यू, मैले तपाईंहरूले मञ्चन गरिरहेको नाटकको प्रशंसा निकै सुनेको छु । म पनि त्यो नाटक हेर्न इच्छुक छु । 

म सीधै तपाईंको रंगमञ्चमा प्रवेश गरेर नाटक हेर्न असमर्थ छु । त्यसैले, तपाईंले कसैले पनि नदेख्ने गरी पछाडिको ढोकाबाट रंगमञ्चमा प्रवेश गर्ने व्यवस्था मिलाइदिनुभयो भने नाटक हेर्ने मेरो रहर पूरा हुने थियो । प्रबन्धकले प्रत्युत्तर लेखे– महोदय, हजुरको प्रस्ताव ठिक हो । तर, हाम्रो रंगमञ्चमा त्यस्तो कुनै पछिल्लो ढोका छैन, जसमा ईश्वरको दृष्टि नपरेको होस् । अब तपाईं नै भन्नुहोस् महोदय, हामी तपाईंलाई कुन ढोकाबाट प्रवेश गराऔँ ?प्रबन्धकको पत्रबाट पादरीले जीवनमा आफूले निकै ठूलो पाठ सिकेको महसुस गरे ।

सुझावित समाचार