पछिल्लो समय महानगर आफैँले गरेका निर्णयबाट पटकपटक ब्याक भइरहनुको कारण के हो ?
महानगर कुनै पनि काम वा निर्णय गरेर ब्याक भएको होइन । हामी विज्ञ तथा कार्यपालिकाको बैठकद्वारा निर्णय गरेर काम सुरु गर्छौं । टुकुचा, सुकुमबासी हटाउने र टुँडिखेललाई पार्किङ बनाउने विषयमा हामी निकै संवेदनशील भएर लागिपरेका छौँ । यो हचुवामा अघि बढेको काम होइन ।
सर्वत्र आलोचना भइरहेको वेला टुँडिखेललाई पार्किङ बनाउने योजना सम्भव होला त ?
टुँडिखेलमा पार्किङ गर्ने कुरा यसअघि पनि वेलावेलामा उठ्दै आएको हो । काठमाडौंको जामको विकल्प नै टुडिँखेल हो । यहाँ पार्किङस्थल बनाउने भनेर कार्यपालिकामा छलफल भएको हो । हामीले अहिले नै काम सुरु गर्न लागेका होइनौँ । अहिले त्यसबारे नगर विकास कोषले अध्ययन गर्दै छ । अहिले हामीले टँुडिखेल सफा गर्न डोजर चलाउँदा पनि पार्किङ बनाउन लाग्यो भनेर हल्ला भइरहेको छ । व्यापक अध्ययनपछि मात्रै हामी यसबारे अघि बढ्छौँ ।
टुकुचा खुला गर्ने नाममा ठाउँठाउँमा भ्वाङ पारेपछि यो अभियानबाट पनि महानगर पछि हटेको हो ?
टुकुचामा हामी ब्याक भएका छैनौँ । सर्वाेच्चबाट ‘स्टे अर्डर’ आएपछि हामीले केही समय काम रोक्नुपरेको मात्र हो । त्यतिवेला ठाउँठाउँमा भत्काउँदा पनि प्रशस्त अध्ययन गरेरै अघि बढेका हौँ । अहिले पनि हामी टुकुचाबारे छलफल गरिरहेकै छौँ ।