एकपटक एक विद्वान् एथेन्सका महान् दार्शनिक अरस्तुसित भेटघाट गर्न गए । भेटघाटका क्रममा उनले अरस्तुलाई भने– हजुरजस्ता महान् दार्शनिकसित भेटघाट गर्न पाउँदा म निकै खुसी छु । यो मेरो अहोभाग्य पनि हो । त्यसैले म हजुरका परमपूज्य गुरुसित भेटघाट गर्न चाहन्छु । यथार्थमा हजुरका गुरु को हुनुहुन्छ ?
विद्वान्को विचार बुझेपछि अरस्तुले भने– कुरा त निकै राम्रो हो । तर, तपाईंले मेरा गुरुसित भेटघाट गर्न सक्नुहुन्न । विद्वान्ले प्रश्न गरे– के उहाँ यस संसारमा हुनुहुन्न ? अरस्तुले जवाफ दिए– मेरा गुरु कहिल्यै मर्नुहुन्न । विद्वान्ले अरस्तुको भनाइको रहस्य बुझ्न सकेनन् । प्रत्यक्षतः उनले भने– मैले हजुरको भनाइको आशय बुझ्न सकिनँ । कृपया प्रस्ट पारिदिनुहुन्थ्यो कि ? मन्द मुस्कुराउँदै अरस्तुले भने– यस संसारका सबै मूर्ख मेरा गुरु हुन् र यस संसारमा मूर्ख कहिल्यै मर्दैनन् । अरस्तुको भनाइ सुन्दा विद्वान् छक्क परे । उनले मनमनै सोचे– होइन, अरस्तु पागल भए कि के हो ? यस्ता असाधारण दार्शनिकका गुरु मूर्ख कसरी हुन सक्छन् ? उनले साहस जुटाएर भने– मानिसहरू ज्ञानको खोजमा गुरुकुलदेखि विद्वान् गुरुहरूको शरणमा जान्छन् । तर, मूर्खको शरणमा पनि कोही जान्छन् भन्नेचाहिँ मैले आजसम्म सुनेको या देखेको छैन ।
विद्वान्लाई सम्झाउँदै अरस्तुले भने– यथार्थमा कुनै व्यक्ति उसका अवगुणका कारण मूर्ख मानिन्छ । त्यसैले, कतै आफूभित्र पनि त्यस्ता कुनै अवगुण त छैनन् भनेर म जहिल्यै आत्मनिरीक्षण गरिरहन्छु । आफूभित्र त्यस्ता अवगुण पाएको खण्डमा तिनलाई निकालेर फ्याँकिहाल्छु । त्यसैले, यस संसारमा मूर्ख हुँदैनथे भने आज म केही पनि हुने थिइनँ । अब तपाईं नै भन्नुहोस्, मेरा गुरु को रहेछन्, मूर्ख या विद्वान् ?