‘मर्क्युर’को नाममा ‘दी मेट्रोपोलिटन’को व्यवस्थापन सम्हाल्ने
होटेल व्यवसायमा विश्वप्रसिद्ध एकोर ग्रुप नेपालमा भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको एनआरएन तथा द्विराष्ट्रिय समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले उक्त ग्रुपलाई नेपालमा भित्र्याएका हुन् ।
बस्नेतले नेपालमा आफूले सञ्चालनमा ल्याउन लागेको दी मेट्रोपोलिटन होटेल प्राइभेट लिमिटेडको व्यवस्थापनमा एकोर समूह भित्र्याएका हुन् । उक्त होटेललाई एकोर समूहले ‘मर्क्युर’ब्रान्डको नाममा सञ्चालनमा ल्याउने भएको छ । भारतको नयाँदिल्लीमा उक्त ब्रान्डलाई नेपालमा भित्र्याउन एकोर र दी मेट्रोपोलिटनबीच सम्झौता भएको हो । सम्झौतामा दी मेट्रोपोलिटन होटेलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् दी मेट्रोपोलिटनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको सुरुवात गरेको बताए । ‘विश्वस्तरको ब्रान्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरूले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सिर्जना भएको छ ।’
उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयोग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरूलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए ।
एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका एक सयभन्दा बढी देशका पाँच हजार तीन सयभन्दा बढी होटेलको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलोपटक दी मेट्रोपोलिटनमा मर्क्युर ब्रान्डमा होटेलको व्यवस्थापन सम्हाल्ने भएको हो । उक्त पाँचतारे होटेल दी मेट्रोपोलिटनमा बस्नेतको लगानी रहेको छ ।
एकोरले नेपालमा मर्क्युर ब्रान्डको नामबाट १०५ कोठे पाँचतारे होटेल सञ्चालनमा ल्याउनेछ । काठमाडौंको सुकेधारामा निर्माणाधीन १० तले उक्त पाँचतारे होटेलमा जिम, स्विमिङपुललगायत पाँचतारे होटेलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । सम्झौतामा होटेललाई सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।