सरस्वती क्याम्पस ६५ वर्षमा प्रवेश

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

आठजनाबाट सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी 

६४ वर्षअघि (०१६ साल) आठजनाबाट सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन् । ६४औँ वार्षिकोत्सव मनाउने क्रममा आइतबार संस्थापक क्याम्पस प्रमुख एवं त्रिविका पूर्वउपकुलपति प्रा. शंकरराज पाठकले आठजनाबाट सुरु गरेको सरस्वती क्याम्पसमा अहिलेको प्रगति देख्दा खुसी लागेको बताए । कार्यक्रममा उनले १० पुस ०१६ सालमा क्याम्पस स्थापना गर्दाका दिन स्मरण गरे । ‘त्यतिवेला मक्कलमा आगो तापेर आठजना विद्यार्थीबाट पठनपाठन सुरु भएको थियो,’ पाठकले भने, ‘अहिले धेरै कार्यक्रम चलेको पाएँ, विदेश पढ्न जाने विद्यार्थी रोक्न अब अझै नयाँ–नयाँ कार्यक्रम ल्याउनुपर्छ ।’ भवन निर्माणलगायतका लागि दुई लाख खर्च जुटाएर क्याम्पस सुरु भएको उनले सुनाए । सरकारले जग्गा र एक लाख ५० हजार उपलब्ध गराएको थियो । त्यसैगरी, ४० हजारको हाराहारीमा तलब जम्मा गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रमुख डा. गोलमान गुरुङले क्याम्पसको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएको बताए । सबै क्षेत्रको सहयोगका कारण सरस्वती क्याम्पसले प्रगति गर्न सफल भएको उनको भनाइ छ । उनले भने, ‘क्याम्पसको सफलताका लागि प्राध्यापक र विद्यार्थीको मिहिनेत आवश्यक पर्छ ।’ उनले संस्थापक क्याम्पस प्रमुख पाठकको भूमिकाको प्रशंसा गरे । 

वार्षिकोत्सवका अवसरमा क्याम्पसले साताव्यापी खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । विभिन्न शैक्षिक कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

पिपुल्स क्याम्पसले मनायो ४१औँ वार्षिकोत्सव
समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१औँ वार्षिकोत्सव मनाएको छ । शनिबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बिबिएस, बिएमएस गरी हाल १६ सय विद्यार्थी अध्ययनरत रहेको बताए । उनले प्रयोगात्मक शिक्षा पद्धति अनुसरण गर्दै क्याम्पसले शैक्षिक भ्रमण, सेमिनार र अनुसन्धानको कामलाई अघि बढाउँदै आएको जानकारी दिए ।

नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शीलु मानन्धर ब्रजाचार्यले नेपालले शिक्षामा जति विकास गर्नुपर्ने हो, त्यति गर्न नसके पनि शिक्षा क्षेत्रमा राम्रो फड्को मारेको धारणा राखिन् । पूर्वक्याम्पस प्रमुख निर्मलमणि पन्थीले सामुदायिक कलेजले विद्यार्थीविहीन हुनुपर्ने अवस्था आएको जनाउँदै अहिले सामुदायिक क्याम्पसले आर्थिक मार खेपेको बताए । ‘हामीजस्तो गैरनाफामूलक सामुदायिक संस्थाले न त निजीको जस्तो शुल्क लिन सक्छौँ, न त हामीलाई सरकारी अनुदान नै प्राप्त हुन्छ,’ पन्थीले भने ।

पूर्वक्याम्पस प्रमुख मंलगदास मानन्धरले दोस्रो विश्वयुद्धपछि दुई कोरियाले शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेकाले उन्नतिको शिखरमा पुग्न सकेको बताउँदै देशको विकासका लागि शिक्षा पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरे । ‘क्याम्पस स्थापना गर्दा धेरै दुःख गरेर सहयोग जुटाउँदै यहाँसम्म आइपुगेको हौँ,’ उनले भने, ‘अब फेरि गाह्रो दिन आउँदै गरेजस्तो देखिन्छ । खासगरी उपत्यकाका सामुदायिक कलेजहरूलाई न त स्थानीय सरकारले, न त स्थानीय उद्योग वाणिज्यले नै सहयोग गर्ने गरेका छन् । 

सुझावित समाचार