प्रेरक प्रसंग : मानिसका प्रकार

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

एक दिन एक सन्त आफ्ना केही शिष्यका साथ समुद्र किनारमा टहलिँदै थिए । एक स्थानमा केही माझीहरू जाल हानेर माछा समातिरहेका थिए । एक माझीको नजिकै उभिएर सन्तले आफ्ना शिष्यहरूसित भने– तिमीहरू सबैले यस जालमा फसेका माछाका गतिविधि ध्यानपूर्वक नियाल ।

शिष्यहरू पनि सन्तको आदेशअनुसार ध्यानपूर्वक माछाका गतिविधि नियाल्न थाले । जालभित्र लगभग सबै माछा जीवितै थिए । तर, तीमध्ये केही मरेजस्तै निश्चल देखिन्थे । केही माछाचाहिँ जालबाट मुक्तिको बाटो खोज्दै उफ्रिरहेका थिए । उनीहरू जालबाट निस्कन सक्दो कोसिस गरिरहेका थिए । तर, तीमध्ये निकै थोरै मात्र जालबाट बाहिर निस्केर पुनः पानीमा पुग्न सफल भइरहेका थिए । 

सन्तले शिष्यहरूलाई सम्झाउँदै भने– जसरी जालमा परेका माछा तीन प्रकारका थिए, त्यसैगरी मानिस पनि तीन प्रकारकै हुन्छन् । पहिलो श्रेणीमा ती मनुष्य हुन्छन्, जसको आत्माले नै बन्धन स्वीकार गरेको हुन्छ । उनीहरू यस भवसागरको जालबाट बाहिर निस्किने विषयमा सोच्न पनि तयार हुँदैनन् । 

दोस्रो श्रेणीमा यस्ता मनुष्यहरू हुन्छन्, जसले वीरले झैँ मुक्तिको प्रयास त गर्छन् । तर, मुक्तिको मार्गबाट वञ्चित रहन्छन् । र, तेस्रो श्रेणीमा त्यस्ता मनुष्य हुन्छन्, जो मुक्तिका लागि आफ्नो सामथ्र्यले भ्याएसम्म प्रयत्न पनि गर्छन् र मुक्त पनि हुन्छन् । 

सन्तको कुरा सुनिसकेपछि एक शिष्यले भने– गुरुदेव ! मनुष्यको अर्को श्रेणी पनि हुन्छ, जसबारे हजुरले यहाँ केही बताउनुभएन । हजुर, मनुष्यको चौथो श्रेणी पनि हुन्छ । वास्तवमा यस श्रेणीका मानिस ती चलाख माछाजस्तै हुन्छन्, जो झुक्किएर पनि जालको नजिक जाँदैजाँदैनन् । जब जालको नजिक नै जाँदैनन् भने उनीहरू जालमा फस्ने सम्भावना हुने कुरै भएन ।

सुझावित समाचार