पर्यटन पूर्वाधार निर्माणमा राज्यको नीति व्यावहारिक नहुँदा जिल्लामा पर्यटन क्षेत्रको विकास हुन सकेको छैन । प्युठानमा धार्मिक, सांस्कृति र पर्यापर्यटनको प्रचुर सम्भावना भए पनि आकर्षण थप्न राज्यको ध्यान नपुगेको जिल्लाका सरोकारवालाले बताएका छन् ।
स्वर्गद्वारी, गौमुखी, झुलेनी मल्लरानीलगायतका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासमा निर्माण हुने पूर्वाधार निर्माण नीति बाधक हुँदा निजी क्षेत्रले चाहेर पनि काम गर्न नसकेको प्युठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा पर्यटन जानकार इमानसिंह भारतीले गुनासो गरे । ‘हामीले ५० लाख खर्चेर जिपलाइन निर्माणको योजना बनायौँ,’ उनले भने, ‘मल्लरानीमा निर्माणको फाइल विभिन्न बहानाबाजीमा सरकारी कार्यालयमा अड्किरहेको छ ।’
जिल्लामा पर्यटन प्रवद्र्धन गर्न लगानीको वातावरण निर्माण गर्नुपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीको भनाइ थियो । उनले लाख लगानी गरे करोडको आम्दानी हुने योजना निर्माणमा सरोकारवालालाई सुझावसमेत दिए ।
यस्तै, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको दाबी गरे । स्थानीय तहको लगानीले मात्रै पर्यटन प्रवद्र्धन हुन नसक्ने भन्दै उनले संघ र प्रदेशले नीतिगत र आर्थिक रूपमा सहजीकरण गर्नुपर्ने बताए । नेपालको पर्यटन क्षेत्रको विकासमा पश्चिमभन्दा पूर्व अगाडि रहेको बताउँदै राज्यले पर्यटन विकास सन्तुलित गराउनुपर्नेमा जोड दिए । पर्यटन विकासमा प्रदेश सरकारले ठूलो बजेट नबनाई सा–साना लगानी मात्रै गरेकाले पर्यटन विकासमा समस्यामा भइरहेको उनको आरोप छ ।
सम्भावना प्रचुर, विकास सुस्त
जिल्लामा पर्यटन व्यवसायको सम्भावना बढी भए पनि पूर्वाधार विकास नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । जिल्लाका केही पर्यटकीयस्थलको गुरुयोजना निर्माण गरी कार्य अघि बढाइएको छ । काम थालनी भएका पर्यटकीय स्थलको विकासमा सीमित बजेट हुँदा विकासमा सुस्तता देखिएको हो । जिल्लालाई जोड्ने सडक पूर्वाधारमा समस्या हुँदा पर्यटन क्षेत्रको विकासमा समस्या देखिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । ‘जिल्लामा पर्यटक भित्रिने मुख्य माध्यम सडक हो,’ गिरीले भने, ‘तर, सडकको अवस्था खराब छ ।’
विवरण संकलन गरिँदै
लुम्बिनीका पर्यटकीय स्थलको प्रोफाइल निर्माण गरी विकास गर्ने योजना रहेको पर्यटन विकास परिषद्, मुकाम बुटवलका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए । जोसीका अनुसार लुम्बिनी पर्यटन विकास परिषद्ले जिल्लालाई पर्यटकीय हबका रूपमा विकास गर्न पर्यटनको प्रकारको वर्गीकरण गरी डिजिटल बुस्टिङको तयारी गरिरहेको छ ।