मैदानदेखि ड्रेसिङ रुमसम्म खेलाडीलाई सम्हाल्दै फ्रान्सेली राष्ट्रपति

मंगलबार, ५ पुष, २०७९
डिजिटल संस्करण

लुसेल रंगशालामा एउटा दृश्य निकै भाइरल बन्यो । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो टोली उपविजेता बनेको क्षणमा खेलाडीलाई सम्हाल्नमै समय बिताए । अर्जेन्टिनासँग टाइब्रकेरमा पराजित भएपछि फ्रान्सेली क्याम्प निराश देखिएको थियो ।

खेलाडीहरू मैदानमा रुँदै बसेका थिए । फ्रान्सलाई उपाधिको भिडन्तमा अन्तिम समयसम्म टिकाइराखेका युवा स्ट्राइकर एम्बाप्पे मैदानमा एक्लै बसिरहँदा फ्रान्सकै राष्ट्रपति म्याक्रोनले उनलाई धाप दिँदै सम्झाएका थिए ।

एम्बाप्पेले तीनैपटक फ्रान्सलाई बराबरीमा पुर्‍याउँदा म्याक्रोनले विशिष्ट भिआइपी प्यारापिटमा उफ्रँदै खुसीयाली मनाएका थिए । खेलाडीलाई सम्झाउँदै गरेको क्षण र गोलको खुसीमा एक साधारण दर्शक बनेको म्याक्रोनको दृश्य निकै भाइरल बनेको थियो । उपाधि रक्षा गर्न नसकेर खेलाडीहरू पीडामा रहँदा राष्ट्रपति म्याक्रोन एक अभिभावकका रूपमा मैदानमा देखिए । एम्बाप्पेसँगै उनी बसेको फोटोले धेरैको ध्यान तानेको छ । 

चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्ने एम्बाप्पेको विश्वास

विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् । विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार पेरिस पुगेपछि स्थानीय पत्रकारसँग कुराकानी गर्दै सन् २०२६ को विश्वकप फुटबलमा फ्रान्सले उपाधि दाबेदारी दिने जनाएका हुन् ।

‘हामी सबै यति विश्वस्त छौँ, चार वर्षपछि फ्रान्स फेरि लयमा प्रतिस्पर्धा गर्नेछ, उपाधि जित्ने लक्ष्य पूरा गर्छौं,’ उनले भने । विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेको क्षणमा एम्बाप्पे त्यति खुसी देखिएनन् । लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानको नजिक पुगेको फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो ।

See More On

सुझावित समाचार