लुम्बिनीबाहेक प्रदेश १, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुरानै भवनलाई रंग्याएर नयाँ सांसदको स्वागत गरिँदै
प्रदेश १ मा तीन करोडभन्दा बढी खर्चेर अस्थायी संसद् भवन बनाइँदै
प्रदेश १ को प्रदेश सभा सचिवालयले नयाँ सांसद र सभामुखलाई स्वागत गर्न संसद् भवन र कार्यकक्षको स्तरोन्नति गरिरहेको छ । पहिले बस्दै आएका सभामुख र उपसभामुखको कार्यकक्ष अपेक्षाकृत सुविधा सम्पन्न नभएको गुनासो आएपछि नयाँका लागि कार्यकक्ष स्तरोन्नति गरेको प्रदेश संसद् सचिवालयका सचिव गोपाल पराजुलीले बताए । सभामुख र उपसभामुखको कार्यकक्ष र सचिवालयमा फर्निचरहरू भने यथावत् रहनेछन् ।
एक वर्षअगाडि निर्माण भएको अस्थायी संसद् भवनभित्र आवश्यक थप रंगरोगन गर्ने काम पनि भइरहेको छ । ‘सभामुखको कार्यकक्ष र संसद् भवनको रंंगरोगन प्राप्त मर्मत–सम्भारको बजेटभित्रैबाट गराइरहेका छौँ,’ उनले भने, ‘सभामुख र उपसभामुखको कार्यकक्ष स्तरोन्नति, संसद् सभाहलको रंगरोगनमा २० लाखबराबरको खर्च हुनेछ ।’ जिससको सभाहलमा सञ्चालन हुँदै आएको प्रदेश सभा साँघुरो भएको आवाज उठेपछि विराटनगर महानगरपालिका–९ देवकोटा चोकमा रहेको प्रदेश सभा परिसरभित्रै तीन करोडभन्दा बढी खर्चेर नयाँ अस्थायी संसद् बैठक भवन निर्माण गरिएको हो
मधेसमा शैक्षिक तालिम केन्द्रको भवनमा संसद् बैठक
नयाँ सांसद आउने भएपछि मधेस प्रदेश सभा सचिवालय सरसफाइदेखि मर्मत–सम्भारमा जुटेको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले संसद् बैठक बस्नुअघि सरसफाइदेखि सामान्य मर्मत–सम्भारमा ध्यान दिएको बताए । ‘संसद् भवनको रंगरोगन सकिएको छ । मर्मत–सम्भार पनि खासै गर्नुपर्ने ठाउँ छैन,’ उनले भने, ‘तैपनि प्रदेश सभा राम्रो देखियोस् भन्ने उद्देश्यले सरसफाइदेखि सामान्य मर्मतमा जोड दिएका छौँ ।’
मधेस प्रदेश सभा सचिवालय जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित शैक्षिक तालिम केन्द्रको भवनमा छ । प्रदेश सभा सचिवालयको आफ्नो भवन छैन । शैक्षिक तालिम केन्द्र अन्तै सारिएको छ । ‘संसद् भवन प्रदेश सभाको आफ्नो होइन, शैक्षिक तालिम केन्द्रको हो । तर, हामीले भाडा तिरेका छैनाँै । कसैले भाडा तिर्नुपर्छ भनेर पनि भनेको छैन,’ यादवले भने । हाल बसेको संसद् भवन शैक्षिक तालिम केन्द्रको भए पनि जग्गा गुठी संस्थानको हो ।
बागमतीमा नयाँ संसद् भवन बन्न समय लाग्ने

बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरेर ११० जना प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु हुनै लाग्दा प्रदेश सभाको आफ्नै भवन भने छैन । यसपटक पनि बागमती प्रदेश सभाको पहिलो बैठक हेटौँडा उपमहानगरपालिका–१० स्थित तत्कालीन शिक्षा निर्देशनालयको भवनमै बस्नेछ ।
प्रदेश सभाको आफ्नै भवन पनि बन्दै छ । बागमती प्रदेश सभाको नयाँ हल निर्माण कार्य भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची सगुन पारामाउन्ट जेभीले प्रदेश सभाको नयाँ भवनको निर्माण गरिरहेको छ । १९ कात्तिक ०७७ मा चार करोड ९४ लाख नौ हजार रुपैयाँमा प्रदेश सभा भवन निर्माणको सम्झौता भएको थियो ।
बागमतीमा पाँच वर्षमा तीनवटा सरकार बने । तर, कुनैले पनि प्रदेश सभा भवनको निर्माणलाई प्राथमिकतामा राखेनन् । तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयले ६० जना अट्ने गरी निर्माण गरेको तालिम हलमा प्रदेश सभाको बैठक बस्ने गरेको थियो । प्रदेशको निर्माणाधीन संसद् भवनको काम पूरा नभएपछि अहिले पुरानै भवनमा बैठक राख्ने गरी मर्मत कार्य चलिरहेको छ । प्रदेश सभाको मूलगेटदेखि सभामुख–उपसभामुखको कार्यकक्ष, संसदीय दलका कार्यालयसम्मको मर्मत र रंगरोगन धमाधम भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नयाँ भवन तत्काल सम्पन्न हुने अवस्था नभएपछि पुरानै भवनलाई मर्मत गरेर नयाँ रूप दिन लागिएको सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । ‘दोस्रो कार्यकालको पहिलो बैठक नयाँ भवनबाटै सुरु गर्ने अपेक्षा गरेका थियौं, तर विभिन्न कारणले त्यो सम्भव भएन । अहिले पुरानै भवनलाई व्यवस्थित पारेर बैठक सञ्चालनको तयारी गरेका छौ,’ उनले भने, ‘प्रदेशसभा सदस्यहरूलाई बस्न सहज हुने गरी कुर्सीको व्यवस्थापन तथा हलमा फलसिलिङको काम चालिरहेको छ ।’
गण्डकीमा पुरानै भवनमा बैठक बस्ने

गण्डकी प्रदेश सभाको बैठक नदीपुरस्थित पुरानै भवनमा बस्नेछ । गण्डकी प्रदेशको प्रदेश सभा भवन पोखरा महानगरपालिका– १, नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (साबिकको नगर विकास प्रशिक्षण केन्द्र) को परिसरमा छ । प्रदेश सभा भवनसँगै परिसरमा प्रदेश सभा सचिवालय, प्रदेश सभाअन्तर्गत विभिन्न विषयगत समिति, राजनीतिक दलका संसदीय दलका कार्यालय, मुख्यमन्त्री, सभामुख, उपसभामुखका कक्षसँगै अन्य बैठक कक्ष रहेका छन् ।
बैठकको तयारीका लागि आवश्यक काम प्रदेश सभा सचिवालयले सुरु गरेको छ । हाल भवन परिसरमा सामान्य रंगरोगनसँँगै बगैँचाका फूल गोडमेलको काम सुरु गरिएको छ । पहिले टुटफुट भएका स्थानमा मर्मतका काम भइरहेका छन् । बैठकका लागि नयाँ केही गरिएको छैन । प्रदेश सभा भवनमा यसअघि रहेका फर्निचरहरू नै प्रयोग गरिएको छ । सफाइ र सामान्य रंगरोगनबाहेक अन्य कुनै काम नगरिने सचिवालयका अभिलेख शाखाका शाखा अधिकृत झनकराज अधिकारीले जानकारी दिए ।
तत्कालीन नगर विकास प्रशिक्षण केन्द्रको तालिम हल रहेको कक्षमा प्रदेश सभाको बैठक सञ्चालन हुने गरेको छ । बैठक कक्षमा नगर विकास प्रशिक्षण केन्द्रको तालिम हलमा रहेका टेबुल कुर्सीहरू नै प्रयोग गरिएको छ । नयाँ फर्निचरलगायत अन्य सामग्री केही खरिद नगरिने अधिकारीले बताए । ‘यसअघि जुन संरचनामा जसरी बैठक सञ्चालन भएका थिए, आवश्यक मर्मतपछि तिनै संरचनामा आगामी बैठक सञ्चालन हुनेछन्,’ उनले भने । दुई वर्षअघि प्रदेश सभा भवन निर्माणका लागि भन्दै प्रदेश सरकारले एक अर्ब ४३ करोडको योजना अघि सारे पनि काम भने सुरु भएको छैन ।
लुम्बिनी प्रदेशको पहिलो बैठक दाङको भालुवाङमा बस्ने
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको छ । राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेश सभा भवन बनिरहेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन् ।’
राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी भइरहेको छ । केसीका अनुसार विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन् । प्रदेशसभा भवन एक अर्ब २० करोड लगानीमा बनिरहेको हो ।
प्रदेश सभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने बाँकी छ । विद्युत जोडिएको छ । रंगरोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेश सभाले लिएको छ । पुस तेस्रो साता सम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ । आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्वन्धी आवश्यक निर्णय गर्नेछ । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले सपथ गराउने छन् । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको सपथ हुने छ ।
रंगरोगन गरिँदै कर्णाली प्रदेश सभा भवन
कर्णाली प्रदेश सभा सचिवालय प्रदेश सभाको दोस्रो कार्यकालका लागि तयारीमा जुटेको छ । सचिवालयले नवनिर्वाचित सांसदको स्वागतका लागि प्रदेश सभाको भवन, पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रंगरोगन, सरसफाइ, बगैँचा सजावट तथा गोडमेलका काम गरिरहेको छ ।
कर्णाली प्रदेश सभा संसद् भवनका लागि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन गरेको छ । आफ्नै भवन बनाउने कुनै संरचना खोजी नगरेको कर्णाली प्रदेश सभाले पहिलो कार्यकालमा प्रयोग भएको भवनलाई नै अहिले भत्केबिग्रेको सामग्री फेरबदल गर्ने, रंगरोगन, सञ्चारका सामग्री, कुर्सी, टेबुल, हल, कार्पेटिङ, गाडीहरूको मर्मत कार्य, पुस्तकालय, सभाकक्ष, बैठक कक्षहरूलाई चुस्त, दुरुस्त गर्ने काम भइरहेको कर्णाली प्रदेश सभाका सचिव जीवराम बुढाथोकीले बताए । ‘पाँच सेट नयाँ सोफा खरिद गरेका छौँ,’ उनले भने, ‘कार्पेट केही नयाँ किनिएका छन् । अन्य पुरानै साधनलाई मर्मत गरेका छौँ ।’
सभामुख, उपसभामुख, मुख्यमन्त्री, विपक्षी दलको नेतालगायतका पदाधिकारीको कार्यकक्ष साटफेर गर्ने काम भइरहेको र त्यहाँ प्रयोग हुने फर्निचरलगायतका अन्य सामान विगतमा प्रयोग भएका सामानबाटै मर्मत गरेर प्रयोग हुने सचिव बुढाथोकीले बताए । ‘यी सामान नियमित बजेटबाट व्यवस्था गरेका हौँ,’ उनले भने, ‘अन्य बजेटको माग हामीले गरेनौँ ।’ यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षलाई सभामुखको कार्यकक्ष, कानुनमन्त्रीको कार्यकक्षलाई मुख्यमन्त्री, माओवादी केन्द्रका दलका नेताको कार्यकक्षलाई प्रमुख विपक्षी दलका नेताको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको, कर्णाली प्रदेश सभामा कांग्रेस, माओवादी, एमाले, एकीकृत समाजवादी, राप्रपाको संसदीय दलको कार्यालय यसअघि थिए ।
सुदूरपश्चिममा सजाइँदै प्रदेश सभा भवन
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको तयारी थालेको छ । बैठकका लागि प्रदेश सभा हलमा माइक, टेबुल, कुर्सीहरू मिलाउने काम भइरहेको छ । आगामी पाँच वर्षका लागि चुनिएर आएका सदस्यको स्वागतका लागि प्रदेश सभा भवन तथा परिसर सजाउन थालिएको छ ।
प्रदेश सभा भवनलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ । परिसरमा सरसफाइ गरिनुका साथै फूलहरू रोपिएका छन् । परिसरमा रहेको पानीको फोहरा मर्मत भइरहेको छ । नयाँ बैठकको तयारीका लागि प्रदेश सभामा सजावट, सरसफाइसँगै अन्य व्यवस्थापनका काम भइरहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । ‘निर्वाचित भएर आउनुहुने जनप्रतिनिधिको स्वागतका लागि प्रदेश सभाको सजावटसँगै बैठकका हल व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘संसदीय दलका कार्यालय व्यवस्थापनको तयारी पनि गरिरहेका छौँ ।’ तत्कालीन जिल्ला विकास समितिको हल प्रदेश सभाका लागि प्रयोग गरिँदै आएको छ । पाँच वर्षसम्म यही भवनमा प्रदेश सभाका बैठक सञ्चालन भएका थिए । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको यही हलमै आगामी संसद् बैठक सञ्चालन हुनेछन् । प्रदेश राजधानी तोकिएको गोदावरीमा संघबाट जग्गाको भोगाधिकार नपाउँदा पूर्वाधार निर्माणको कुनै पनि काम सुरु भएको छैन ।
विराटनगरमा गणेश लम्साल, जनकपुरधाममा हदिश खुद्दार, मकवानपुरमा पोष्टराज अधिकारी, कास्कीमा रोहितराज पराजुली, दाङमा दीपक बोहरा, सुर्खेतमा रमेश रावल र धनगढीमा तेजराज भट्ट