आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा अर्नव पाण्डे प्रथम

अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागी हुने २० नेपाली विद्यार्थी छनोट

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

नवलपुरको गैँडाकोटमा सम्पन्न आठौँ राष्ट्रिय स्क्र्याबल खेलमा अर्नव पाण्डे प्रथम भएका छन्। सम्पन्न खेलमा गैँडाकोट इंग्लिस स्कुल नवलपुरका पाण्डे प्रथम हुँदा सैनिक आवासीय माध्यमिक विद्यालय कास्कीका आयुश ढकाल द्वितीय र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बाराका रोशनकुमार यादव तृतीय भए।

योसँगै शनिबार ९५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट २० जना विद्यार्थी छनोट भएका छन्। प्रतियोगितामा उत्कृष्ट २० मा परेका विद्यार्थीले फेब्रुअरीमा बंगलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा सहभागिता जनाउने आयोजक संस्था पोखरा स्क्र्याबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिए। एक महिना अघिदेखि भएको विभिन्न छनोट चरण पूरा गरेर जिल्लामा उत्कृष्ट बनेका विद्यार्थी आठौँ राष्ट्रिय स्क्र्याबलमा सहभागी भएका थिए।

प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २० जिल्लाका ९५ प्रतिस्पर्धीको सहभागिता रहेको गैँडाकोट इंग्लिस स्कुलका शिक्षक नवराज कँडेलले बताए। पोखरा स्क्र्याबल क्लबको आयोजना र गैँडाकोट इंग्लिस स्कुलको व्यवस्थापनमा आठौँ राष्ट्रिय स्क्र्याबल प्रतियोगिता सम्पन्न भएको हो।

सन् १९४८ मा अमेरिकामा सुरु भएको स्क्र्याबल खेल नेपालमा पहिलोपटक सन् २०१५ मा सुरुवात गरिएको थियो। शब्दको खेलका रूपमा लिइने यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, स्मरणशक्तिको विकास हुने, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गने गरेको देखिन्छ। स्क्र्याबल खेलको नेपाली रूपान्तरण नभइसके पनि कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्ने गरिएको छ।
 

सुझावित समाचार