चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतबार काठमाडौंकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘वसन्त चौधरी फाउन्डेसन’ले उनलाई सम्मान गरेको हो ।
समारोहमा डा. गौतमलाई साहित्य कला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले उपहार अर्पण गरेका थिए । यस्तै, साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरेकी थिइन् ।
सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतम : ‘आविष्कारी आख्यानका दशकहरू’ नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो । यो पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित बधाई डा. गौतमलाई अर्पण गरेका थिए ।
सो अवसरमा डा. गौतमको ८०औँ जन्मोत्सव पनि मनाइएको थियो । उनलाई वसन्त चौधरीले माला तथा मेघा चौधरीले ढाकाटोपी लगाइदिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्री लुनकरणदास गंंगादेवी चौधरी साहित्य कला मन्दिरका संस्थापक अध्यक्ष वसन्त चौधरीले डा. गौतम साहित्यका नवीन र घतलाग्दा प्रयोगहरू गर्ने सर्जक रहेको बताए । ‘उहाँप्रति आविष्कारी आख्यानकार’को उपाधि अर्पण गर्न पाउनु हाम्रा लागि पनि जीवनकै ऐतिहासिक अवसर हो,’ चौधरीले भने, ‘महान् कवि गोपालप्रसाद रिमालको कवितांश पैँचो लिएर भन्दा डा. गौतम ‘एक युगमा एक दिन एकचोटि जन्मिने’ प्रतिभा हुनुहुन्छ ।’
डा. गौतमका हरेक कृतिले साहित्यमा उज्याला प्रकाशहरू छरेर समग्र नेपाली साहित्यलाई नै प्रज्वलित तुल्याएको चौधरीको भनाइ थियो । हालसम्म ३२ वटा उपन्यास लेखिसकेका डा. गौतम नेपाली आख्यान जगत्का कीर्तिमानी सर्जकसमेत रहेका चौधरीको दाबी छ । डा. गौतमले सबै विधामा गरी हालसम्म ५३ वटा कृति जन्माइसकेका छन् ।