एकजना धनी व्यापारीले पेन्टरलाई बोलाएर आफ्नो एउटा पुरानो डुंगामा रङरोगन गर्ने जिम्मेवारी सुम्पिएर आफ्नो काममा लागे । पेन्टरले व्यापारीले भनेजस्तै रातो रङ लगाइदिए । पेन्टरको काम देख्दा व्यापारी पनि खुसी भए । उनले पेन्टरले भनेजति पैसा दिएर बिदा गरे ।
अर्को दिन ती व्यापारी पुनः तिनै पेन्टरलाई खोज्दै उनको घर पुगे । व्यापारीले पेन्टरलाई ठूलो धनराशि पुरस्कारस्वरूप दिए । छक्क पर्दै पेन्टरले प्रश्न गरे– मेरो कामका लागि त मैले हिजै ज्याला पाइसकेको छु । आखिर तपाईं कुन कामका लागि यति धेरै रकम दिँदै हुनुहुन्छ ? व्यापारीले जवाफ दिए– यो हिजोको कामको ज्याला होइन । वास्तवमा हिजोको डुंगामा एउटा प्वाल थियो । त्यसको पनि मर्मत गरिदिएकोमा म तिमीलाई यो रकम पुरस्कारस्वरूप दिँदै छु ।
पेन्टरले भने– रङ लगाउँदै जाँदा मैले डुंगामा सानो प्वाल भेटेँ अनि, त्यसलाई टालिदिएँ । त्यति सानो कामका लागि यति धेरै रकम मलाई चाहिँदैन हजुर ! व्यापारीले पुनः भने– मित्र, तिमीलाई पूरै कुरा थाहा छैन । तिमीलाई पेन्ट गर्न दिने क्रममा मैले डुंगामा प्वाल भएको कुरा बताउन बिर्सिएँ । काम सकिएपछि तिमीलाई बिदा गरेर म आफ्नो काममा निस्किएँ । रङ सुकेपछि मेरा दुवै छोराछोरी डुंगा लिएर समुद्रमा नौका–विहारका लागि निस्किएछन् । त्यतिखेर म घरमा थिइनँ । जब घर आइपुगेँ तब छोराछोरी नदेखेर उनीहरूबारे सोध्दा पत्नीले उनीहरू त्यही डुंगा लिएर नौका–विहारका लागि समुद्रतिर गएको बताइन् ।
उनको जवाफ सुनेपछि मेरो मनमा पहिरो गयो । किनकि, डुंगामा प्वाल थियो । म आत्तिँदै समुद्रतिर गएँ । समुद्र किनारमा पुग्दा त मेरा छोराछोरी दंग पर्दै डुंगाबाट किनारतिरै फर्किँदै थिए । किनारमा आइपुगेपछि मैले हतार–हतार डुंगाको प्वाल हेरेँ । तर, त्यसलाई तिमीले पहिल्यै मर्मत गरिसकेका रहेछौ । यो देख्दा मेरो खुसीको सीमै रहेन । त्यसैले, मेरा प्यारा मित्र, मैले भन्दै नभनेको काम गरेर तिमीले डुंगाको प्वाल मर्मत नगरिदिएको भए आज मैले मेरा छोराछोरीको अनुहार देख्न पाउने थिइनँ ।
त्यसैले, तिमी यो रकम स्वीकार गर । किनकि, मेरा छोराछोरीको जीवनको साटो यो रकम निकै तुच्छ हो । तिमीले भन्दै नभनेको कामसमेत गरेर जीवनमा मौका पाउँदा कुनै पनि भलाइको काम गर्नबाट पछि हट्नुहुँदैन भन्ने पाठ पनि सिकाएका छौ । म यस मन्त्रलाई जीवनमा जहिल्यै मनन गरिरहनेछु ।