प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी एक लाख पाँच हजारभन्दा बढी मत बदर भएको छ । निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यतर्फ प्रत्यक्षमा कुल खसेकोमध्ये ४.६९ प्रतिशत र समानुपातिकमा ६.३६ प्रतिशत मत बदर भएको हो ।
प्रत्यक्षतर्फ नौ लाख ५८ हजार आठ सय ४५ मत खसेकोमा ४४ हजार नौ सय ६७ मत बदर भएको आयोगले जनाएको छ । समानुपातिकतर्फ खसेको नौ लाख ५७ हजार दुई सय ६९ मतमध्ये ६० हजार आठ सय ७४ मत बदर भएको छ । निर्वाचन आयुक्त जानकी तुलाधरले मतपरिणामसहितको प्रतिवेदन सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई शनिबार बुझाएकी छिन् । सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता छन् ।
प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी प्रदेश सभामा ५३ जना सदस्य निर्वाचित भएका छन् । जसमा ३५ जना पुरुष र १८ महिला छन् । सुदूरपश्चिम प्रदेश सभामा महिलाको प्रतिनिधित्व ३३.९७ र पुरुषको प्रतिनिधित्व ६६.०३ प्रतिशत रहेको आयुक्त तुलाधरले बताइन् । अघिल्लो प्रदेश सभामा १७ महिला थिए ।
एक सय नौ उम्मेदवारको धरौटी जफत
प्रदेश सभा सदस्यमा एक सय ९३ जनाको उम्मेदवारी कायम रहेकोमा १० प्रतिशतभन्दा कम मत ल्याएका एक सय नौजना उम्मेदवारको धरौटी जफत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । उम्मेदवारी दिएका १३ महिलामध्ये १० जनाको धरौटी जफत भएको छ । त्यस्तै, समानुपातिकतर्फ एउटा सिट पनि जित्न नसकेका २८ दलको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले दुई लाख ७४ हजार ६७५ (३२.२३ प्रतिशत), कांग्रेसले दुई लाख ६९ हजार ५६४ (३१.३६ प्रतिशत) र माओवादीले एक लाख २१ हजार ४३१ (१४.२५ प्रतिशत) मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ (११.५६ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ हजार २२३ (५.१९ प्रतिशत) र एकीकृत समाजवादीले ४३ हजार ८१९ (५.१५ प्रतिशत) मत पाएका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा ६ वटा दलको प्रतिनिधित्व कायम भएको छ । समानुपातिकतर्फ कांग्रेस र एमालेले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई तथा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक सिट जितेका हुन् । १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो र ११ सिटसहित माओवादी दोस्रो ठूलो दल बनेको छ । तेस्रो ठूलो दल एमालेको १०, नागरिक उन्मुक्तिको सात, एकीकृत समाजवादीको चार र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सिट छ । एकजना स्वतन्त्र सांसद छन् ।
निर्वाचन आयुक्त तुलाधरले आयोगले शनिबार सातै प्रदेशमा प्रदेश प्रमुखलाई मतपरिणामसहितको प्रतिवेदन बुझाएको जानकारी दिइन् । प्रतिवेदन बुझाउने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि उपस्थित थिए ।