दाङको तुलसीपुरमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम अघि बढेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालय परिसरमा अन्डरग्राउन्ड ट्यांकी निर्माणको काम सुरु भएको छ । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैयाँ लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।
जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ लाग्छ । अहिले उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् ।
तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीनवटा सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) बन्नेछ । त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ र्यापिड स्यान्ड फिल्टर दुईवटा सितलपुरमा र मल्टी ग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टी ग्रेड फिल्टर जहाँ ट्यांकी निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् ।
त्यस्तै, शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टकी सन्तनिरङकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालयनजिक इन्टर मिडियट आरभिटी तीन सय घनमिटर बन्नेछ । त्यस्तै चारवटा ओभरहेड ट्यांकी निर्माण हुनेछन् । शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर, मोतीपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० मिटर घनमिटर ओभरहेड टंकी पनि निर्माण हुनेछन्।
दुईवटा अन्डर ग्राउन्ड ट्यांकी निर्माण हुनेछन् । त्यस्तै डुम्रीगाउँमा ६ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण हुनेछन् । त्यस्तै, प्रसारण पाइपलाइन २८.३१५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप १२५.७५२ किलोमिटर हुनेछ । साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् ।
बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०–६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरंकारी भवननजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ ।
तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धाराहरू रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन्। हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् ।
त्यस्तै, कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साबिक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै, रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् । तुलसीपुरको खानेपानी परिसरमा निर्माण हुन लागेको अन्डरग्राउन्ड ट्यांकीको उद्घाटन गर्नुहुँदै उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यो परियोजना सम्पन्न भएमा यहाँको खानेपानी समस्या समाधान हुने बताए ।