नदेखिने बन्धन

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

व्यापारको सिलसिलामा एक व्यापारी आफ्ना तीन उँटका साथमा एक सहरतिर जाँदै थिए । बाटामै रात परेपछि उनले एउटा सार्वजनिक पाटीमा रात बिताउने निर्णय गरे । उनले पाटीको बाहिर ऊँट बाँधेर आफूभित्र गई आराम गर्ने विचार गरे । तर, दुइटा ऊँट बाँधेपछि उनीसित भएको डोरी सकियो । तेस्रो ऊँट बाँध्ने उपाय नै भएन । उनी चिन्तित भए ।

त्यही बाटो हुँदै एक सन्त कतै जाँदै थिए । उनले व्यापारीसित चिन्ताको कारण सोधे । व्यापारीले ऊँट बाँध्न डोरी अपुग भएको बताए । सन्तले भने– जसरी तिमीले दुइटा ऊँटलाई बाँधेका थियौ, त्यसैगरी बाँकी एउटालाई पनि बाँध न ! व्यापारीले भने– डोरी नै सकियो र पो त, नत्र त मैले पनि जानेको थिएँ नि ! सन्तले भने– अरे ! मैले डोरीले बाँध भनेको थिएँ र ? तेस्रो ऊँटलाई तिमी कल्पनाको डोरीले बाँध पो भनेको त ! 

व्यापारीले त्यसै गरे । उनले बाँधेको अभिनय पूरा गरेपछि तेस्रो ऊँट पनि आफ्नो स्थानमा आरामसाथ बस्यो । व्यापारीभित्र गएर रातभरि आरामले निदाए । बिहान उठेर उनले बाँधेका दुईवटा ऊँटलाई खोलिदिए । दुवै ऊँट उठेर यात्राका लागि तयार भए । तर, तेस्रो ऊँट उठेन । व्यापारी रिसाए । 

उनी तेस्रो ऊँटलाई कुट्न थाले । अघिल्लो दिनकै सन्त फेरि त्यहाँ आइपुगे । उनले प्रश्न गरे– यो पशुलाई किन कुटिरहेका छौ तिमी ? व्यापारीले भने– हेर्नुहोस् न, यो उठिरहेको छैन । सन्तले हाँस्दै भने– हिजो बाँधेपछि आज खोल्दिनुपर्दैन ? खोल्दै नखोलेपछि ऊ कसरी हिँडोस् त ?

व्यापारीले ऊँटलाई खोलिदिएको अभिनय गरे । ऊँट जर्याकजुरुक उठेर साथीहरूसँगै हिँड्न तयार भयो । सन्तले भने– जसरी यो ऊँटले अदृश्य बन्धनलाई पनि साँचो ठानिरहेको थियो, त्यसैगरी हामी मानिस पनि पुराना अदृश्य रीतिरिवाजबाट बाँधिएका हुन्छौँ र अरूलाई पनि त्यसैबाट बाँधिराख्न चाहन्छौँ । त्यसैले, हामीले अनावश्यक त्यस्ता बन्धन तोडेर अघि बढ्न सक्नुपर्छ ।

सुझावित समाचार