विश्वकप फुटबल प्रतियोगितामा ६ राष्ट्र मात्र आयोजकका रूपमा विजेता बनेका छन् । विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो । आयोजक राष्ट्र उरुग्वेले ट्रफी घरमै राखेको थियो । यसको चार वर्षपछि सन् १९३४ मा इटाली आयोजक बन्यो । इटालीले पनि विश्वकप जित्यो । विश्वकप इतिहासमा लगातार दुईपटक आयोजक राष्ट्रले नै उपाधि जितेका छन् । उरुग्वे र इटालीपछि यो रेकर्ड पश्चिम जर्मनी र अर्जेन्टिनाले राखेका थिए ।
सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप आयोजना गर्यो । इंग्ल्यान्डले घरेलु मैदानको फाइदा लिँदै विश्व च्याम्पियन बन्यो । सन् १९७४ मा पश्चिम जर्मनीले आयोजना गरेको विश्वकपको उपाधि बाहिर गएन । पश्चिम जर्मनीले नै उपाधि हात पार्यो । सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप आयोजनाको बाजी मार्यो । अर्जेन्टिना पहिलोपटक विश्वकप विजेता घरमै भयो ।
यसको २० वर्षपछि फ्रान्सले सन् १९९८ मा विश्वकप आयोजना गर्यो । फ्रान्सले विश्वकपको फाइनलमा ब्राजिललाई हराउँदै पहिलोपटक ट्रफी चुम्यो । विश्वकपको इतिहासमा आयोजकका रूपमा विजेतापछि उत्कृष्ट स्थान रक्षा गरेको स्विडेन हो । स्विडेनले सन् १९५८ मा विश्वकप आयोजकका रूपमा उपविजेता ट्रफी उचालेको थियो । सन् १९६२ को आयोजक चिली तेस्रो भयो ।
विश्वकपको इतिहासमा एक मात्र राष्ट्र आयोजकका रूपमा चौथो भएको छ । सन् २००२ को विश्वकप सह–आयोजक दक्षिण कोरिया चौथो भएको थियो । विश्वकपमा एसियन राष्ट्रका रूपमा सेमिफाइनल स्थान पक्का गरेको दक्षिण कोरिया मात्रै हो । यसैगरी, सन् १९५४ मा स्विट्जरल्यान्ड, सन् १९७० मा मेक्सिको र सन् २०१८ मा रसिया क्वार्टरफाइनलमा पुगेका थिए । सन् २००२ मा जापान प्रिक्वार्टरफाइनलमा पुगेको थियो ।विश्वकपमा आयोजक राष्ट्रका रूपमा कतार र दक्षिण अफ्रिकाले खराब रेकर्ड राखेका छन् ।