मन्डेलाका प्रेरणा स्रोत

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

रंगभेदविरोधी अश्वेत राजनेता नेल्सन मन्डेलाको नाम दक्षिण अफ्रिकामा मात्र नभई संसारभर आदरसाथ लिने गरिन्छ । दक्षिण अफ्रिकामा लामो संघर्ष गरेर उनले त्यहाँका अश्वेत नागरिकलाई गोराहरूको श्वेत उपनिवेशबाट मुक्त गराउन जे–जस्तो भूमिका खेले, त्यसबाट उनी संसारभर स्वतन्त्रता, न्याय र समानताका पर्याय नै बन्न पुगे ।

झन्डै २७ वर्ष लामो कठोर कारावास सजाय भोगेका नेता मन्डेलाले संसारभरका शोषित, पीडित र उपेक्षित जनतालाई संघर्षको अनुपम पाठ पढाएका छन् । दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित अश्वेत राष्ट्रपति भएपछि एउटा कार्यक्रममा उपस्थित मन्डेलालाई प्रश्न सोधियो– तपाईं हाम्रो दक्षिण अफ्रिकाका लागि मात्र नभई विश्वकै लागि एक महान् राजनेता हुनुहुन्छ, प्रेरक हुनुहुन्छ । तपाईं यति महान् नेता हुनुपछाडि कसै न कसैको प्रेरणा त पक्कै होला । के तपाईं आफ्नो प्रेरणा स्रोतबारे हामीलाई केही बताइदिन सक्नुहुन्छ ?

प्रश्न सुन्नासाथ मन्डेलाले एकछिन पनि नसोची जबाफ दिए– मेरा बाबा नै मेरा प्रेरणाका अथाह स्रोत हुनुहुन्थ्यो । बाबा हाम्रो कबिलाका मुखिया हुनुहुन्थ्यो । म पनि उहाँसँगै गाउँ–समाजको भेलामा जाने गर्थें । उहाँका दुइटा व्यवहारबाट म असाध्यै प्रेरित भएको छु । पहिलो, बाबा जहिल्यै भेलामा गोलो घेरा बनाएर बस्नुहुन्थ्यो ।

उहाँको भेलामा कसैमाथि पनि सानो या ठूलो भनेर विभेद हुँदैनथ्यो । त्यहाँ सबै समान हुन्थे, सबै समान रूपमा सहभागी हुन्थे । दोस्रो, भेलामा उपस्थित गाउँ समाजका मानिसले बोलुन्जेल बुबा चुपचाप सुनिरहनुहुन्थ्यो । उहाँ सबैलाई बोल्न दिनुहुन्थ्यो । सबैको भनाइ सुनिसकेपछि मात्र आफू बोल्नुहुन्थ्यो । हो, बाबाका यिनै दुई गुण सानैदेखि सिक्ने मौका पाएको हुनाले उहाँ नै मेरो मुख्य प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।

सुझावित समाचार