सेमिफाइनलमा तीन पुरानै र एक नयाँ टोली

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

सेमिफाइनलमा मोरक्को मात्र नयाँ राष्ट्र हो, अर्जेन्टिना र फ्रान्स दुईपटकका च्याम्पियन हुन् भने क्रोएसिया साबिक उपविजेता टोली हो

PC@FIFAWorldCup Offical Twitter Handle

पहिलोपटक मध्यपूर्वी एसियन राष्ट्र कतारमा आयोजना भएको फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा मोरक्को मात्र नयाँ राष्ट्र हो । मोरक्कोबाहेक अन्य तीन टोली विश्वकपका पुरानै अनुहार हुन् । अर्जेन्टिना र फ्रान्स दुईपटकका च्याम्पियन हुन् । क्रोएसिया साबिक उपविजेता टोली हो । फ्रान्स र क्रोएसियाले ब्याक टु ब्याक अन्तिम चारको स्थान पक्का गरेका हुन् । अर्जेन्टिनाले आठ वर्षपछि अन्तिम चारको स्थान सुरक्षित गरेको हो । विश्वकपका ६४ मध्ये ६० खेल समाप्त भएका छन् । बाँकी चार खेलपछि २२औँ संस्करणको विजेता टुंगो लाग्नेछ । सेमिफाइनल खेल बुधबार र बिहीबार हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । यस्ता छन् चार प्रतिस्पर्धी :

अर्जेन्टिना : लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना दोस्रोपटक फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाको प्रशिक्षकमा लियोनल स्कालोनी छन् । २६ सदस्यीय टोली बोकेर कतार पुगेका स्कालोनीले केही मुख्य खेलाडी घाइते हुँदा दबाब महसुस गरे । अर्जेन्टिना समूह चरणको पहिलो खेलमै स्तब्ध बन्न पुग्यो । प्रशिक्षक स्कोलानीले बनाएको रणनीतिअनुसार खेलाडी चल्न नसक्दा अर्जेन्टिनाले एसियाली राष्ट्र साउदी अरेबियालाई २–१ ले नतिजा सुम्पियो । यो खेलसँगै अर्जेन्टिनाको ३६औँ खेलको अपराजित यात्रा टुंगिएको थियो । दबाबमा आएको अर्जेन्टिनाले दोस्रो र तेस्रो खेलमा पुनरागमन गर्‍यो । अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डलाई समान २–० ले हराउँदै समूह ‘सी’ विजेता हुँदै प्रिक्वार्टरफाइनल स्थान रक्षा गर्‍यो । अन्तिम १६ खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा पुग्यो । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समयमा २–२ गोल भएपछि पेनाल्टीमा ४–३ ले हराएको थियो । अब, अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया उत्कृष्ट फर्ममा छ । 

क्रोएसिया : सन् २०१८ को उपविजेता क्रोएसिया लगातार सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । अनुभवी मिडफिल्डर लुका मोड्रिकको कप्तानीमा सुरुवाती खेलमा क्रोएसियाले खासै प्रभाव जमाउन सकेन । यद्यपि, विश्वकपमा क्रोएसियाले अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा क्यानडालाई ४–१ ले हराएको क्रोएसिया समूहको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्न सफल भयो । यही बराबरी नतिजासँगै क्रोएसियाले अन्तिम १६ को स्थान पक्का गरेको हो । क्रोएसियाले प्रिक्वार्टरफाइनलमा एसियाली ‘पावर हाउस’ जापानको चुनौती पेनाल्टी सुटआउटमा समाप्त पार्‍यो । निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी हुँदा पेनाल्टीमा क्रोएसिया ३–१ ले विजयी भयो । क्रोएसिया पाँचपटकको विजेता ब्राजिलसँग क्वार्टरफाइनलमा भिडेको थियो । अतिरिक्त समयमा क्रोएसियाले १–१ को बराबरी गर्दै खेल टाइब्रेकरमा लग्यो । लगातार पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ ले स्तब्ध बनायो । नकआउट चरण अगाडि बढ्दै जाँदा क्रोएसिया बलियो हुँदै जान्छ ।  

फ्रान्स : साबिक विजेता फ्रान्स कतार विश्वकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । सन् २०१८ मा रसियामा क्रोएसियालाई हराउँदै दोस्रोपटक विश्व च्याम्पियन भएको फ्रान्स उपाधि जोगाउने योजनामा छ । समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको फ्रान्स अन्तिम खेलमा अफ्रिकन प्रतिद्वन्द्वी ट्युनिसियासँग १–० ले स्तब्ध बनेको थियो । आक्रामक खेललाई ध्यानमा राखेको फ्रान्सले केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यानसँगै ओलिभर जिरुडलाई प्रमुख हतियार बनाएको छ । अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराएको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्यान्डको सामना गरेको थियो । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक अन्तिम चार स्थान पक्का गर्‍यो ।  

मोरक्को : कतार विश्वकपमा मोरक्को ‘डार्क हर्स’ बनेको छ । रक्षात्मक र अट्याकिङ खेलमा मोरक्को सफल देखिइरहेको छ । मोरक्को विश्वकप सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । क्यामरुन, घाना र सेनेगलले अन्तिम आठको यात्रा तय गर्दा मोरक्कोले त्यो कीर्तिमान भंग गरेको छ । पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बेल्जियमलाई २–० ले स्तब्ध पारेको थियो । समूहको अन्तिम खेलमा क्यानडालाई २–१ ले हराउँदा विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदा क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गर्‍यो । मोरक्को जारी विश्वकपमा युरोपका महारथी देशलाई स्तब्ध बनाउन सफल भएको छ ।

सुझावित समाचार