खाल्डोमा पुरिएको अवस्थामा महिलाको शव फेला

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एकजना महिलाको शव फेला परेको छ। शव एकहप्ताअघि हराएको भनिएकी सोही स्थानकी ३६ वर्षीय सरस्वती वाइबाको रहेको प्रहरीले जनाएको छ। 

शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए।

वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा हिजो शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। 

शव स्थानीय ठुलोकान्छा वाइबाको घरभन्दा ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा भेटेपछि श्रीमान् वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी चौकी सिस्नेरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनाको बारेमा जानकारी लिएर मुचुल्का तयार पारी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए।

सुझावित समाचार