नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरीयतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन्। पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन्।
पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुबिन महर्जन, बिनेश खनियाँ, शिवसुन्दर गोथे र प्रदीप रोक्का गरी पाँचै खेलाडी छनोट भए।
महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन्। नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरीयतामा पर्न असफल भए।
शुक्रबार भएको समूह चरणमा विजयी हुँदै संयोग, रुबिन, बिनेश र नविता छनोट भइसकेका थिए। शनिबार भएको खेलमा पराजित भए पनि शिव र प्रदीप शीर्ष १६ वरीयतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन्।
अन्तिम खेलमा शिव पाकिस्तानका हसिब ख्वाजासँग सोझो सेटमा हार्न पुगे। आइतबार शिवले नवौँ वरीयताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी, प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भए पनि १६औँ वरीयतामा रहन सफल भए।
पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोट हुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए। पुरुषतर्फ पाकिस्तानका हसिब खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहुर छनोट भए।
भारतका सनिलशंकर सेटी र हर्मितराजुल देसाई छनोट हुँदा श्रीलंकाका प्रसादजयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंघे भएका छन्। यसैगरी, बंगलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा माल्दिभ्सका मुसा मुन्सिफ अमहेन छनोट भए।
महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन्।
भारतकी मनिका बट्रा, श्रीजा अकुला, रिथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट भए। यसैगरी, श्रीलंकाबाट बिमन्दी सन्दिन्सा स्वा, मनिशा शालिन्दी, तामादी काभिन्ध्या, कसुनी हिमाय पितिगला, ओनेली लेहान्सा डोना छनोट भएका छन्।
पाकिस्तानकी हुर फवाद, पेनिया जहान खान र हाइक्वा हसन गरी तीन खेलाडी छनोट भए। यस्तै, माल्दिभ्सकी फाथिमथ धिमा अलि, बंगलादेशकी आइशे रोहमन र नेपालकी नविता छनोट हुन सफल भइन् ।
एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन्। एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ।