आजदेखि मेलम्चीको पानी राजधानीमा वितरण गरिँदै

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण
आजदेखि मेलम्चीको पानी राजधानीमा वितरण गरिँदै

फाइल तस्बिर : नयाँ पत्रिका

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका– १ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक साताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।  

गोकर्णेश्वर नगरपालिका– १ स्थित सुरुङको अन्तिम बिन्दुमा यही मंसिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न बागमतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहाेर सफा गर्न सुरुको पानी बागमतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर रामचन्द्र पौडेलले जानकारी दिए । यही मंसिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो ।  

केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत साता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।  

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ । यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो । आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।     
     

यही मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।  

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । ०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । ०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि ०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो । मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले हाल हिउँदको समयमा मात्र मेलम्चीको पानी राजधानी आउने गरेको छ ।  

आज खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए । राजधानीमा खानेपानीको अभाव भएपछि नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह नेतृत्वको टोलीले पनि गत हप्ता मेलम्चीको मुहान पुगेर स्थलगत अध्ययन गरेको थियो ।

नेता सिंहसहितका नवनिर्वाचित सांसद एवं जनप्रतिनिधिको समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी स्थायी रूपमा वर्षभर नै मेलम्चीको पानी राजधानी आउने वातावरण बनाउन माग गरेको थियो ।     

सुझावित समाचार