अलेक्जेन्डरको विश्वास

शुक्रबार, २३ मंसिर, २०७९
डिजिटल संस्करण

अलेक्जेन्डर द ग्रेट आफ्नो विशाल सेना लिएर पर्सिया देशसित युद्धका लागि गइरहेका थिए । जाँदाजाँदै उनी बाटैमा बिरामी परे । हेर्दाहेर्दै उनको हालत चिन्ताजनक भयो । अलेक्जेन्डरका साथमा कैयौँ नामी वैद्य थिए । तर, जति प्रयास गर्दा पनि उनीहरूले अलेक्जन्डरको रोग निदान गरेर सही उपचार गर्न सकेनन् ।

जसले गर्दा अब अलेक्जेन्डर बाँच्दैनन् भन्ने निष्कर्षमा उनीहरू पुगे । त्यसैले यदि औषधि दिइसकेपछि उनको निधन भयो भने मानिसहरूले जानीजानी वैद्यले उनको हत्या गरेको अभियोग लगाउने डरले गर्दा उनीहरूले कुनै औषधि सिफारिस गर्न सकेनन् । संकट मोल्न कोही तयार भएनन् । 

तर, एक युनानी चिकित्सक फिलिपले अलेक्जेन्डरको अवस्था देख्न सकेनन् । उनी अलेक्जेन्डरका विश्वासपात्र र शुभचिन्तक पनि थिए । आफ्नो वास्ता नगरी उनले अलेक्जेन्डरलाई भने, ‘म औषधि तयार गरेर ल्याउँछु । हेरौँ हजुरको अवस्थामा सुधार आउँछ कि ?’ यति भनेर उनी औषधि तयार गर्न अर्को कक्षमा गए । यसैबीच अलेक्जेन्डरले आफ्ना एक उच्चाधिकारीबाट गुप्त सन्देश पाए, जसमा लेखिएको थियो, पर्सियाका बादशाहले तपाईंलाई औषधिको बहानामा विष दिएर मार्ने षड्यन्त्र रचेका छन् । र, यो कामका लागि उनीहरूले फिलिपलाई आधा राज्य र आफ्नी राजकुमारी दिने वचन दिएका छन् । अलेक्जेन्डरले सन्देश पढे र त्यसलाई सिरानमुनि राखे । केही क्षणपछि फिलिप औषधि लिएर आइपुगे । 

अलेक्जेन्डरले कुनै शंका नगरी एक हातले प्याला उठाएर मुखमा लगाए र अर्को हातले सन्देश निकालेर फिलिपलाई दिए । पत्र पढिसकेपछि फिलिपले मधुर स्वरले भने, ‘महाराज मैले त आफ्नो तर्फबाट तपाईंलाई जानेजति र सकेजति राम्रो औषधि दिएको छु, हेर्दै जाउँ त्यसको असर कस्तो देखिन्छ ? औषधिले साँच्चै प्रभाव देखायो । केही क्षणमै अलेक्जेन्डरको हालतमा सुधार आयो । 

ठीक भएपछि अलेक्जेन्डरले फिलिपलाई गम्लंग अँगालो हाले र भने, ‘मेरा प्राणदाता, चिन्ता नगर, मेरो मनमा कुनै आशंका भइदिएको भए त्यो पत्र पढेर तिमीले ल्याएको औषधि पिउने नै थिइनँ । मैले तिमी र तिम्रो ज्ञानमाथि विश्वास गरेँ र अहिले त्यसको मीठो फल पाएँ।’ 

सुझावित समाचार