विश्वकपमा दोस्रोपटक पेनाल्टीमा चुके मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अघि घानाका असामोहले पनि विश्वकपमा दुई पेनाल्टी चुकाएका छन्

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

तनावपूर्ण खेलमा निकै अनुभवी खेलाडी पनि आत्तिन्छन् । प्रतिस्पर्धामा स्टार खेलाडीले आफूमाथि नै चर्को दबाबको महसुस गर्छन् । तनावबाट मुक्त हुन नसक्दा सहज अवसरसमेत चुकाउने गर्छन्, खेलाडी । अझ निर्णायक खेलमा पेनाल्टी प्रहार अवसर पाउँदा अनुभवी खेलाडीले किन हो तनावपूर्ण वातावरणमा खेलिरहेका हुन्छन् । चालू विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनी कप्तान लियोनल मेसीले पनि यस्तै ‘नर्भसनेस’को सामना गरिरहेका छन् । 

समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान अर्जेन्टिनाले पोल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । यो खेलमा हारले अर्जेन्टिना बाहिरिने र जितले अर्को चरणमा पुग्थ्यो । गर या मरको अवस्थामा प्रतिस्पर्धा गरेको अर्जेन्टिनाले पहिलो हाफमै पेनाल्टी पायो । मेसीले नै खेलको ३५औँ मिनेटमा पेनाल्टी प्रहार गर्न अग्रसर भए । पाँचौँ विश्वकप खेलिरहेका मेसीले नर्भसझैँ देखिए । पोल्यान्डका गोलरक्षक सेचेन्जी मेसीको पेनाल्टी जसरी पनि बचाउने आत्मविश्वासका साथ पोस्टको लाइनमा उभिए ।

मेसीले दायाँतिर प्रहार गरेको पेनाल्टीलाई गोलरक्षक सेचेन्जीले डाइभ गरी विफल पारे । पोल्यान्डविरुद्ध अग्रता लिने अर्जेन्टिनाले ठूलो अवसर गुमायो । मेसीको पेनाल्टी मिसले समर्थक निराश भएका छन् । यद्यपि, यो खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गर्‍यो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए । 

 साउदी अरेबियाविरुद्ध पेनाल्टी सफल
कतार विश्वकपमा मेसीको यो दोस्रो पेनाल्टी हो । समूह चरणको पहिलो खेलमै साउदी अरेबियाविरुद्ध मेसीले पेनाल्टी प्रहार गरेका थिए । मेसीकै पेनाल्टी गोलमा अर्जेन्टिनाले साउदी अरेवियाविरुद्ध १–० को अग्रता लियो ।  सो खेलमा साउदी अरेबियाले सनसनी नतिजा निकाली २–१ ले बाजी मार्‍यो ।

समग्रमा मेसीले विश्वकपमा तीनमध्ये एक पेनाल्टी प्रहार मात्र गोल गरेका छन् । विश्वकप इतिहासको एकै संस्करणमा दुई पेनाल्टी सेभ गर्ने पोल्यान्डका गोलरक्षक तेस्रो खेलाडी हुन् । साउदी अरेबियाका गोलरक्षक अल दसारीले पनि मेसीको पेनाल्टीलाई रोक्न सकेनन् । विश्वकपमा दुई पेनाल्टी मिस गर्ने सूचीमा मेसी र घानाका असामोह गायन शीर्ष स्थानमा छन् । मेसीले सन् २०१८ को रसिया विश्वकपमा आइसल्यान्डविरुद्धको खेल पनि असफल पेनाल्टी प्रहार गरेका थिए । 

असामोहले सन् २०१० को दक्षिण अफ्रिकी संस्करणमा चारमध्ये दुई पेनाल्टी चुकाएका थिए । जसमध्ये एउटा पेनाल्टी उनले जीवनभरि नै सम्झिरहनेछन् । क्वार्टरफाइनलमा घाना र उरुग्वेबीच प्रतिस्पर्धा भएको थियो । तनाव सामना गर्न नसक्दा असामोहले असफल पेनाल्टी प्रहार गरेका थिए । उनको पेनाल्टी गोल हुँदा घाना पहिलोपटक विश्वकप इतिहासमै सेमिफाइनलमा पुग्ने थियो । असामोहको मिस पेनाल्टीसँगै घाना क्वार्टरफाइनलमा रोकियो । 

 करिअरमा ३१ पटक असफल
सन् २००५ मा मेसीले राष्ट्रिय टोलीमा डेब्युमा गरेका थिए । उनले अहिलेसम्म अर्जेन्टिनी टोलीबाट एक सय ६८ खेलमा प्रतिस्पर्धा गरेका छन् । उनले ९३ पटक गोल गरेका छन् । मेसीले अहिलेसम्म अन्तर्राष्ट्रिय करिअरमा अर्जेन्टिनाबाट चार पेनाल्टी मिस गरेका छन् । क्लब र देशका लागि उनले ३१ पटक असफल पेनाल्टी प्रहार गरेका छन् । मेसीले राष्ट्रिय टोलीबाट जर्मनीविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टी मिस गरेका थिए । 

पछिल्लोपटक क्लबस्तरीय खेलमा मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि पनि यस्तै प्रदर्शन गरे । युरोपियन च्याम्पियन्स लिगमा पिएसजीले रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दा मेसीले पेनाल्टीमा गोल गर्न सकेनन् । करिअरमा पेनाल्टी सुटआउट (टाइब्रेकर)मा मेसीले सातपटक गोल गर्न चुकाए । यसमध्ये सन् २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीविरुद्ध उनले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाले उपाधि उचाल्न सकेन । 

See More On

सुझावित समाचार