काभ्रेमा ५० उम्मेदवारले धरौटी जोगाउन सकेनन्

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेका ५० उम्मेदवारको जमानत जफत भएको छ। प्रत्यक्षतर्फको मतपरिणामअनुसार जिल्लाका ५० उम्मेदवारको जमानत जफत भएको हो।

काभ्रेमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा गरी जम्मा ६४ जनाको उम्मेदवारी कायम भएको थियो। जसअन्तर्गत गठबन्धनका दल, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका उम्मेदवारको जमानत जफत भएको छ। प्रत्यक्षमा निर्वाचित ६ जना, दोस्रो हुने ६ जना  र स्वतन्त्र पार्टीका दुईजनासहित १४ जनाले आफ्नो धरौटी फिर्ता गर्न सफल भएका छन्। धरौटी जोगाउन नसक्नेमा ५० उम्मेदवार (७८ प्रतिशत) छन्।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ को निर्देशिकामा उल्लेख गरेअनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवारले १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले पाँच हजार धरौटी राख्नुपर्ने प्रावधान छ।  निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ।  सोहीअनुसार काभ्रेको ५० प्रत्यक्ष उम्मेदवारले  सदर मतको १० प्रतिशित मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो।

जिल्लामा रहेको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ३३ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ६ उम्मेदवारले मात्र १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। २७ उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्। उनीहरूको धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले बताए।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ, एमालेका उम्मेदवार रेशमबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वसुनारायण श्रेष्ठ, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका गोकुलप्रसाद बास्कोटा, नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले मात्र सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। 

चार प्रदेश सभा सदस्यमा ३१ जना उम्मेदवार रहेकोमा आठजनाले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्।  प्रतिनिधिसभा १ (क)मा माओवादी केन्द्रका रत्न ढकाल र एमालेका दिलबहादुर तामाङले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा १(ख) मा कांग्रेसका तीर्थ लामा र एमालेका चन्द्र लामाले धरौटी जोगाएका छन्। त्यसरी नै प्रतिनिधिसभा २(क) मा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र एमालेका कुमार खकुरेल तथा प्रतिनिधिसभा २(ख) मा कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेका कुमार थापाको धरौटी जोगिएको छ।

See More On

सुझावित समाचार