राजनीतिक विश्लेषक राजेन्द्र महर्जनलाई तीन प्रश्न

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

मतगणनाको प्रारम्भिक नतिजालाई कसरी हेर्नुभएको छ ?
प्रारम्भिक नतिजाले पुरानो र यथास्थितिवादी नेतृत्व र दलप्रतिको जनताको तीव्र आक्रोशलाई देखाएको छ । यो पटकपटक सत्तामा पुग्दा पनि जनहितमा काम नगर्ने दलहरूप्रतिको आक्रोश हो । जनतालाई ‘डेलिभरी’ नदिने दल र नेतृत्वप्रतिको विद्रोह पनि हो यो । मतदाताले नयाँ र युवा खोजेका छन् । तर, सबै नयाँ र युवा सही हुन्छन् भन्ने चाहिँ छैन । कोही अहिलेको धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिताविरोधी पनि पर्न सक्छन् । 

यो परिणाम दलहरूका लागि खतराको घन्टी त होइन नि ?
पक्कै पनि यो दलहरूका लागि खतराको घन्टी नै हो । दलहरू उम्मेदवार छनोटदेखि जनतालाई डेलिभरी दिनेसम्मका सवालमा पटकपटक चुक्दै आएका छन् । दलहरूको यस्तै रवैयाले गर्दा मतदातामा यो व्यवस्थाप्रति नै असन्तुष्टि बढ्ने खतरा देखिँदै छ । जनताको आक्रोश सडक, लेखन या मतमार्फत सार्वजनिक हुने गर्छ र अहिले पनि त्यही भएको हो । 

यो मतदानमार्फत मतदाताले कस्तो सन्देश दिन खोजेका हुन् ?
मतदाताले नयाँको खोजी गरेका छन् । तर, त्यसको ‘कन्टेन्ट’ खुलस्त भएर आएको भने छैन । पुरानाप्रतिको बढ्दो असन्तुष्टिले ‘नो नट अगेन’ जस्ता अभियानले मूर्तरूप लिन खोजे जस्तो देखिन्छ । चुनावकै दिन पनि विदेश जान बाध्य जनता निराश छन् । उनीहरूले दलहरू सच्चिनैपर्ने र नसच्चिए विकल्प खोज्ने प्रस्ट सन्देश दिएका छन् । 

सुझावित समाचार