नेदरल्यान्ड्सले सोमबार समूह ‘ए’मा अफ्रिकन टोली सेनेगलमाथि २–० को कठिन जित निकालेको छ । समूह ‘ए’ महत्वपूर्ण तीन अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । यस समूहमा दक्षिण अमेरिकी टोली इक्वेडर गोलअन्तरमा दोस्रो स्थानमा छ । इक्वेडरले २२औँ विश्वकपको उद्घाटन खेलमा आयोजक कतारमाथि २–० को जित निकालेको थियो । नेदरल्यान्ड्स र सेनेगलबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टोलीले एट्याकिङ खेल खेलेका थिए ।
खेलको ८४औँ मिनेटमा नेदरल्यान्ड्सले गोलको खडेरी तोड्न सफल भयो । नेदरल्यान्ड्सका लागि गाक्पोले डिबक्सभित्र उत्कृष्ट हेडिङ गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए । मैदानको दायाँ साइडबाट डी जोङले डिबक्सभित्र क्रस निकालेका थिए । गोक्पाले सेनेगलका गोलरक्षक मेन्डयीलाई छेक्न अवसर नदिई पहिलो बारमा गोल गरे ।
त्यसलगत्तै सेनेगलले बराबरी गोल अवसर खेर फाल्यो । खेलको ८६औँ मिनेटमा पापे गुइएले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई नेदरल्यान्ड्सका गोलरक्षक नोर्पेटले बायाँ साइडमा डाइभ गरी बल क्लियर गरे । खेलको अन्तिम इन्जुरी समयमा नेदरल्यान्ड्सले २–० अग्रता लिएको थियो । खेलमा आठ मिनेटको इन्जुरी समयमा थप भयो । सोही अवधिमा क्लासेनले रिवाउन्डमा सहजै गोल गर्दै नेदरल्यान्ड्सको जित २–० ले पक्का पार्यो ।
नेदरल्यान्ड्स आठ वर्षपछि विश्वकप फुटबलमा फर्किएको हो । सन् २०१४ को उपविजेता टोली नेदरल्यान्ड्स रसिया विश्वकपमा छनोट नै भएन । सेनेगलले विश्वकप सुरु हुनुअघि नै मुख्य स्ट्राइकर साडियो मानेलाई गुमाएको थियो । मानेविनाको सेनेगलको फिनिसिङ कमजोर देखियो । युरोपियन छनोटमा नेदरल्यान्ड्सले ३३ गोल गरेको थियो । जसमध्ये मेम्पिस डेपायले सर्वाधिक १२ गोल गरेका थिए । नेदरल्यान्ड्सका गोलरक्षक नोपर्टले राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाए । सेनेगलविरुद्ध नेदरल्यान्ड्सले अन्तिम समयमा खेल पकडमा राखेको थियो ।
यसअघि ४५औँ मिनेटमा सेनेगलले राम्रो अवसर सिर्जना गरेको थियो । इस्मालिया सारले डिबक्सभित्र प्रहार गरेको बल क्रसबारनजिक हुँदै बाहिरिएको थियो । मध्यान्तरअघि सेनेगलले काउन्टर एट्याक्टमा नेदरल्यान्ड्सको डिफेन्सलाई चुनौती दिएको थियो । सेनेगलले मध्यान्तरअघि दुईपटक सुनौलो गोल अवसर खेर फाल्यो । खेलको ५३औँ मिनेटमा नेदरल्यान्ड्सले नजिकको दूरीबाट अग्रताको अवसर चुकाएको थियो । कर्नरमा प्राप्त बलमा भर्जिन भानले क्लोज रेन्जबाट प्रहार गरेको हेडिङ बल पोस्टनजिक हुँदै बाहिरिएको थियो ।
खेलको ५५औँ मिनेटमा सेनेगलका इड्रिसा गुएरले डिबक्सभित्रबाट प्रहार गरेको बललाई नेदरल्यान्ड्सका गोलरक्षक नोपर्टले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ५३औँ मिनेटमा भान डिकले क्लोज रेन्जमा गोल गर्न सकेनन् । पेनाल्टी बक्सको ६ यार्डभित्र उनी अनमार्कमा थिए । बलमाथि नियन्त्रण लिन नसक्दा उनले मौका चुकाएका हुन् ।