११ जिल्लाका २५ स्थानमा झडप र विवाद

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बाजुरामा कांग्रेस र एमालेबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु, दोलखामा ३४ राउन्ड हवाई फायर, केही जिल्लामा मतपेटिका लुट्ने प्रयास

बाजुराको त्रिवेणी नगरपालिका– ७ स्थित नाट्यश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपमा घाइते भएकालाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर । तस्बिर : गगन अयडी/नयाँ पत्रिका

निर्वाचनमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । अरू २५ जना घाइते भएका छन् । घाइते हुनेमा १८ सर्वसाधारण र सात सुरक्षाकर्मी छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीको गोली लागेर बाजुरास्थित त्रिवेणी नगरपालिका– ७ का २६ वर्षीय सन्दीप अयडीको मृत्यु भएको हो । नाट्यस्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले बाध्य भएर अधिकार प्रयोग गर्दै गोली चलाएको एसएसपी कार्कीले बताए । 

‘कांग्रेस–एमाले कार्यकर्ताबीच बुथ कब्जा गर्न खोज्दा ढुंगामुढासहित झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो,’ उनले भने, ‘तर, उल्टै सुरक्षाकर्मीमाथि आक्रमण भयो, प्रहरीले बोकेको इन्सास राइफल पनि खोसेर लगियो । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा अयडीको मृत्यु भएको हो ।’ खोसिएको राइफल अहिलेसम्म फेला परेको छैन । 

प्रहरीका अनुसार यो घटनामा मात्रै चार सर्वसाधारणसहित केही प्रहरी घाइते भएका छन् । फिल्डमा खटिएका प्रहरी सहायक हवल्दार कृष्णबहादुर कुँवर पनि गम्भीर अवस्थामा छन् । घाइते सर्वसाधारणलाई तत्काल हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेतस्थित अस्पताल ल्याइएको एसएसपी कार्कीले बताए । 

एसएसपी दानबहादुर कार्की, प्रवक्ता, नेपाल प्रहरी
कांग्रेस–एमाले कार्यकर्ताबीच बुथ कब्जा गर्न खोज्दा ढुंगामुढासहित झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, उल्टै सुरक्षाकर्मीमाथि आक्रमण भयो । प्रहरीले बोकेको इन्सास राइफल पनि खोसेर लगियो । त्यसपछि प्रहरीले बल प्रयोग गर्दा अयडीको मृत्यु भएको हो ।

त्यस्तै, प्रहरीको बल प्रयोगबाट घाइते हुनेमा प्रदेश १ मा एकजना, मधेस प्रदेशमा आठजना, बागमती प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा एकजना र सुदूरपश्चिममा ६ जना छन् । प्रहरीका अनुसार उनीहरू ताप्लेजुङ, रौतहट, सिराहा, चितवन, दोलखा, स्याङ्जा, हुम्ला, डोटी, दार्चुला, बझाङ र बाजुरा गरी ११ जिल्लाका २५ स्थानमा झडप र विवाद भएका थिए । जसमध्ये सबैभन्दा बढी बाजुराकै ६ ठाउँ छन् । 

बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । बुढीनन्दा नगरपालिका– ५, नन्देश्वर मावि र स्वामीकार्तिक खाँपर गाउँपालिकाको शम्भुसुनन्दा माविमा समेत झडपका घटना भए । बाजुरामा जिल्लाभरि एक दर्जनभन्दा बढी ठाउँमा झडपका घटना भएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । बुढीनन्दा– ५ मा निर्वाचन स्थगित भएको छ । झडप भएको स्वामीकार्तिक र त्रिवेणीमा के गर्ने भन्ने निर्वाचन आयोगबाट जानकारी आइनसकेको उनले बताए । गत स्थानीय तहको निर्वाचनमा समेत बाजुरामा झडपका घटना भएका थिए । बुढीगंगा नगरपालिकाका– ६ वटा वडामा त्यसवेला निर्वाचन रोकिएको थियो ।

बाजुरामा यसअघि ३० वैशाखमा भएको निर्वाचनमा पनि यस्तै तनाव सिर्जना भएको थियो । बुथ कब्जा गरेको र फर्जी मत खसेको आरोपसहित त्यतिवेला पनि कांग्रेस–एमाले कार्यकर्ताबीच विवाद हुँदा त्यहाँको बुढीगंगा नगरपालिकामा पुनः मतदानको अवस्था सिर्जना भएको थियो । विवाद सुल्झिन नसक्दा त्यहाँ एक महिनापछि मात्रै पुनः मतदानको अवस्था सिर्जना भएको थियो । 

यो निर्वाचनमा पनि सबैभन्दा बढी हिंसा र तनावको अवस्था बाजुरामै सिर्जना भएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आइतबार राति पत्रकार सम्मेलनकै क्रममा बाजुराले पुरानै परम्परा कायम राखिदिएको भन्दै कटाक्ष गरे । ‘अघिल्लो निर्वाचनमै विवाद भएका कारण यसपटक बाजुरामा सुरक्षाका सबै उपाय अपनाएका थियौँ,’ उनले भने, ‘तर, आयोगले चाहेर मात्रै नहुने रहेछ । सबैको साथ चाहिने देखियो । त्यसैले मतदान हुन बाँकी केन्द्रमा पूरै नयाँ रणनीति र सुरक्षा व्यवस्थासहित सम्भव भएसम्म दुई दिनभित्र मतदान गराउने तयारीमा छौँ । मतपत्र फेरि छाप्नुपर्ने अवस्था आयो भनेचाहिँ अलि ढिला हुन सक्छ ।’ 

बझाङमा समेत झडपका घटना भए । छबिसपाथीभेरा गाउँपालिका– १, गुरेलथुमको मस्टा प्रावि मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीचको झडप रोक्न प्रहरीले हवाई फायर गरेको बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । त्यस क्रममा एकजना प्रहरी घाइते भएका छन् । केदारस्युँ गाउँपालिका– १ मा फर्जी मत खसाएको विषयमा विवाद हुँदा दिउँसो केहीबेर मतदान अवरुद्ध भएको थियो । छिटपुट घटनाबाहेक जिल्लाभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको भण्डारीले बताए ।

दार्चुलाको शैल्यशिखर गाउँपालिका– ५, स्थित मालिकार्जुन मावि मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । एउटाको नाममा अर्कैले मतदान गरेको पाइएपछि विवाद भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका क्रममा कैलालीका ११ वटा ठाउँमा बम र शंकास्पद वस्तु फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा मतदानस्थल र आसपासमा फेला परेका ११ वटा बम तथा विस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । धनगढी उपमहानगरपालिका– २, शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको थियो । त्यहाँ कुनै मानवीय क्षति भने भएन । केही ठाउँमा शंकास्पद वस्तु भेटिए पनि कुनै पनि ठाउँमा निर्वाचन भने नरोकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलले बाजुरामा अप्रिय घटना भए पनि अन्य जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए । ‘अन्य जिल्लामा छिटपुट घटना भए पनि निर्वाचन रोकिएन,’ उनले भने, ‘केही ठाउँमा भेटिएका शंकास्पद वस्तु सेनाले डिस्पोज गर्‍यो ।’ 

२२ राउन्ड हवाई फायर
निर्वाचनका क्रममा उत्पन्न भएका विवाद र झडपलाई नियन्त्रण गर्न प्रहरीले एक सय २२ राउन्ड गोली चलाएको छ । ११ जिल्लाका विभिन्न २५ स्थानमा विवाद हुँदा हवाई फायर गर्नुपरेको एसएसपी कार्कीले बताए । तर, बाजुरामा मृत्यु भएका एक व्यक्तिबाहेक अन्य तर्साउने हिसाबले हवाई फायर मात्रै भएको उनले दाबी गरे । ‘हवाई फायरको आवाज गोलीकै जस्तो आउने हुँदा तर्साउनलाई प्रयोग गर्ने हाम्रो सुरक्षा रणनीति नै थियो, त्यहीअनुसार चलाएका हौँ,’ उनले भने । 

नौ मतदानस्थलमा चुनाव स्थगित, ५६ पक्राउ
प्रहरी प्रधान कार्यालयको विवरणअनुसार झडप र विवादका कारण देशभरका नौ मतदानस्थलमा मतदान स्थगित भएका छन् । जसमा बाजुराको बुढीनन्दास्थित नन्देश्वर मावि पीपलचौरसहित ६ स्थल, नवलपरासी पूर्वको देवचुलीस्थित शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेतको सिम्तास्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मीको कालीगण्डकी गन्या–भगवती मावि अर्वेनी छन् । 

प्रहरीका अनुसार अधिकांश स्थलमा सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप र विवाद भएका कारण स्थगित भएका छन् । ‘अधिकांश स्थगन दुई कारणले भएका छन् । पहिलो निर्वाचनविरोधी र बहिष्कार गर्नेहरूका कारण । दोस्रो, निर्वाचन अधिकृतको व्यवस्थापनमा कमजोरी हुँदा प्रतिनिधिसभाको मतपत्र प्रदेशमा र प्रदेशको प्रतिनिधिसभामा भर्ने अवस्थाबाट विवाद निम्तिएपछि भएको छ,’ एसएसपी कार्कीले भने ।

दोलखामा सत्तागठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा प्रहरीले दर्जनौँ सेल हवाई फायर गरेको छ । झडप नियन्त्रणमा लिन प्रहरीले ३४ राउन्ड हवाई फायर गरेको थियो । दोलखाका प्रहरी प्रमुख गंगा पौडेलले तनाव सिर्जना भएका मतदान केन्द्रमा स्थिति नियन्त्रणका लागि फायरिङ गर्नुपरेको बताए । बैतेश्वर गाउँपालिका– २ पुतलीकाठ र गौरीशंकर गाउँपालिका– २ जुँगु, तामाकोसी गाउँपालिकाको जफे, मालुलगायतका ठाउँमा प्रहरीले हवाई फायर गरेको हो । कालिञ्चोक गाउँपालिका– ७ पल्लो सुनखानी, बेगुम्पा, जिरी नगरपालिका– ९ मा पनि प्रहरीले हवाई फायर गरेको थियो । 

तामाकोसी गाउँपालिका– ३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १७ राउन्ड फायर गर्नुपरेको प्रहरीले जनाएको छ । कालापानीमा सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् । झडपको क्रममा ब्यालेट बक्स फुटाउन खोजिएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

चितवन १ को राप्ती नगरपालिका– ८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभूत विद्यालयको (ख) मतदान केन्द्रमा मतपेटिका जलाउने प्रयास भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नियमित मतदान प्रक्रिया भइरहँदा २०–२२ जनाको समूहले निर्वाचन बहिष्कारको जानकारी गराउँदै कम्पाउन्डबाट भित्र प्रवेश गरी मतपेटिकामा आगजनी गरेका थिए ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– ४ मा मतपेटिकामा आगजनी गरेका कारण स्थगित भएको थियो । त्यहाँ देवचुली– ४ का मतदाता नारायण भण्डारीले तीनवटा मतपत्र खसालिसकेपछि चौथो अर्थात् अन्तिम मतपत्र हाल्ने वेलामा मतपेटिकामा एसिड हालेका थिए । मतपेटिकामा आगजनी गरेर भागेका उनलाई प्रहरीले मतदान केन्द्रदेखि करिब दुई किलोमिटर टाढाबाट पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । 

प्रजिअ घिमिरेका अनुसार उक्त मतदान केन्द्रमा जलेको प्रदेश समानुपातिकतर्फको मतदान मात्रै बाँकी छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पक्राउ परेका भण्डारीलाई भने हिरासतमा राखेर आवश्यक कारबाहीका लागि अनुसन्धान गरिरहेको बताए । ‘भण्डारीले शरीरमा दलेको ‘बडीलोसन’मा मतपत्र घसेर मतपेटिकामा हालेको सुरुवाती बयान दिएका छन् । हामी अनुसन्धान गर्दै छौँ,’ उनले भने । 

त्यस्तै, निर्वाचन सम्पन्न गर्ने क्रममा विभिन्न ठाउँमा मतदातालाई अवरोध गर्ने, फर्जी मत हाल्न खोज्ने, बुथ तोडफोड र कब्जा गर्ने, मतपेटिकामा लात्ती, मुक्का र ढुंगा हान्नेलगायत गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा काठमाडौं उपत्यकाभित्र २८ र उपत्यकाबाहिर २८ छन् ।

काठमाडौंमा अनिल यादव, दोलखामा श्याम खतिवडा,चितवनमा विवेक पोख्रेल, बाजुरामा गगन अयडी र धनगढीमा तेजराज भट्ट 

See More On

सुझावित समाचार