सुरक्षाकर्मीका गाडीमा मतपेटिका नबोकिने

शनिबार, ३ मंसिर, २०७९
डिजिटल संस्करण
सुरक्षाकर्मीका गाडीमा मतपेटिका नबोकिने

फाइल तस्बिर : नयाँ पत्रिका

निर्वाचनको स्वच्छताका लागि मतदास्थलबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ढुवानी गर्न सुरक्षाकर्मीको सवारीसाधन प्रयोग नहुने भएको छ । सिभिल गाडीमा सुरक्षाकर्मीको निगरानीमा मतपेटिका ओसारिने गृह मन्त्रालयले जनाएको छ । 

‘निर्वाचनको स्वच्छताका लागि सामान्यतया हामी सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दैनौँ,’ शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने, ‘कतिपय स्थानमा अन्य सवारीसाधनको विकल्प नभएको अवस्थामा भने सुरक्षाकर्मीकै गाडी प्रयोग हुन सक्छ । यो एकदमै न्यून हुन्छ ।’ 

सुरक्षाकर्मीकै गाडी प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित मतदान अधिकृतले पहिले नै सुरक्षा निकायलाई लिखित रूपमा जानकारी गराउनुपर्ने र त्यस्तो गाडीमा चालक र मतदान अधिकृतबाहेक अन्य कोही बस्न नपाउने सचिव सिंहले बताए । मतपेटिका ढुवानीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको छ । त्यसका लागि गृहले प्रशासन कार्यालयलाई छुट्टै बजेटसमेत पठाएको छ । सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी गर्दा चलखेलको आरोप नलागोस् भनेर निर्वाचनको निष्पक्षताका लागि अन्य गाडीमा सुरक्षित तरिकाले ढुवानी गर्न लागिएको हो । मतपेटिका ढुवानी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छ । 

करिब एक हजार बम डिस्पोजल टिम 
निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले करिब एक हजार बम डिस्पोजल टिम बनाएको छ । त्यसमध्ये नौ सय तीनवटा विभिन्न जिल्लामा खटिएका र अन्य टोली आवश्यकताअनुसार खटाउन लागिएको छ  । मतदानको दिन नजिकिँदै गर्दा चुनावविरोधी समूहले विस्फोटक तथा शंकास्पद वस्तु राखेर तर्साउने प्रयास गरेपछि सेनाले देशैभरि तालिमप्राप्त टोली खटाएको हो । 

पत्रकार सम्मेलनमा गृहसचिव विनोदप्रकाश सिंहले नौ सय तीनवटा बम डिस्पोजल टिम खटिइसकेका र आवश्यकताअनुसार एक हजार ५० वटासम्म टोली खटाइने जानकारी दिए । केही दिनयता राजधानीलगायत विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । त्यस्ता वस्तु तत्कालै डिस्पोजल गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृहसचिव सिंहले बताए । पछिल्लो समय केही समूहले चुनावविरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रूपमा प्रहरी प्रशासन प्रस्तुत हुने उनले बताए । 

निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । जिल्लादेखि केन्द्रसम्म संयुक्त निर्वाचन कार्य सञ्चालन केन्द्र स्थापना गरी सुरक्षा समन्वयलाई प्रभावकारी बनाइएको गृहसचिव सिंहले बताए । 

सुझावित समाचार