मतदानको कुरा सिकाउन जाँदा घरभित्र लुक्छन् मतदाता

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १५ का महिला स्वास्थ्य स्वयंसेविका टनकुमारी थापा चौधरीले मंगलबार साँझसम्ममा मतदाताको घरघरमा गएर कसरी उम्मेदवारलाई भोट हाल्ने भनेर आफ्नो वडाभित्रका मतदातालाई सिकाएर सकिन् ।

आफ्ना वडाभित्र रहेका मतदाताको घरघरमा गएर, खेतबारीमा गएर मत हाल्ने तरिका सिकाइन् । अहिले जति उम्मेदवार छन् मतपत्रमा त्यति मात्र उम्मेदवारको मत चिह्न रहेको र चारवटा फरकफरक मतपत्र रहेका कारण बदर मत प्रतिशत घट्नेमा ढुक्क देखिन्छन् उनी । तर, उनी मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताको घरघर गएर भोट हाल्ने तरिका सिकाउँदा कतिपय मतदाताले शंका गरेको अनुभव सुनाइन् ।

टनकुमारीले भनिन्, ‘कतिपय ठाउँमा मतदातालाई भोट हाल्न सिकाउँन जाँदा उहाँहरू घरभित्र लुक्न जानुभयो । पछि बुझ्दा जाँदा थाहा भयो– भोट माग्न आएको होला भनेर लुकेका रहेछन्।’ स्वास्थ्य स्वयंसेविका चौधरी यसअघि उक्त गाउँमा बालबालिकालाई खोप कार्यक्रम लिएर गएको र सोही क्रममा भेटिएकी एक महिलाले चिनेपछि मात्र आफूले उक्त गाउँमा मतदाता शिक्षाबारे बुझाउन पाएको उनले बताइन् ।

 त्यस्तै कावासोती नगरपालिका– १७ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविका धनकुमारी थनेतको अनुभव पनि त्यस्तै छ । मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँ गए कतिपय मतदाताह मत हाल्न जाँदैनौँ किन सिक्नुपर्यो ?  भनेर तर्किने गरेको बताइन् । दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेश सभा सदस्यको निर्वाचन रहेको पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । नवलपुरमा ६ पदका लागि दल र स्वतन्त्रका गरी ६८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले नवलपुरका मतदाता शिक्षा कार्यक्रममा नमुना मतदान कार्यक्रम सकिएको बताए । भुसालका अनुसार नवलपुरमा बिहीबारसम्ममा सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसक्नेछन् । 

सुझावित समाचार