१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शंकास्पद दुर्घटनामा पीडितको जाहेरी लिएन प्रहरीले 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३४:oo

धनगढीमा केही दिनअघि भएको ‘शंकास्पद दुर्घटना’मा कैलाली प्रहरीले पीडित पक्षको जाहेरी लिन अस्वीकार गरेको छ । राजनीतिक प्रभावमा परेर किटानी जाहेरी लिन नमानेको प्रहरीले हत्याको घटनालाई दुर्घटना देखाएर अभियुक्तलाई बचाउन खोजेको पीडित पक्षले गुनासो गरेको छ ।

सरकारी वकिलको लिखित निर्देशनपछि पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै मृतकका आफन्तले पत्रकार सम्मेलन गरेर घटनामा संलग्नको बचाउमा प्रहरी लागेको आरोप लगाएका हुन् । धनगढी उपमहानगरपालिका– ४, चटकपुरका महादेव ओझाले आफ्नो छोराको हत्या भए पनि प्रहरीले दुर्घटना बनाएर संलग्नलाई उन्मुक्ति दिन खोजेको गुनासो गरे । उनका छोरा ३१ वर्षीय दुर्गा ओझाको गत २७ असोजमा दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले सार्वजनिक गरेको थियो । 

घटनास्थलको प्रकृति र अन्य तथ्य हेर्दा मारेर फालेको देखिएकाले शंकास्पद व्यक्तिविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले प्रमाण नपुगेको भनेर दर्ता गर्न नमानेको महादेवले गुनासो गरे । ‘सबै तथ्य हेर्दा मेरो छोरालाई मारेर फालेको देखिएन्छ, तर प्रहरीले नै घटनालाई दुर्घटना बनाएर उन्मुक्ति दिन खोजेको हामीले महसुस गरेका छौँ,’ ओझाले भने, ‘राजनीतिक प्रभावमा परेर प्रहरीले जाहेरी लिन नमानेको बुझिएको छ ।’ जिल्ला प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोर र डिएसपी वेदप्रकाश जोशी अभियुक्तको बचाउमा लागेका मृतकका आफन्तले आरोप लगाएका छन् ।

गत २७ असोजको राति करिब एक बजेतिर धनगढी– १३, राजपुरबाट कैलाली गाउँमा आफ्ना एकजना साथीलाई पुर्‍याएर फर्कने क्रममा ओझाको दुर्घटना भएको प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार त्यस दिन दुर्गा र अरू तीनजना राजपुरको एक होटेलमा कोठा लिएर राति बसेका थिए । तीमध्ये नीरज भट्टले राति एक बजेतिर घर जान खोजेपछि दुर्गा मोटरसाइकलमा उनलाई पुर्‍याउन गएका थिए । होटेलमा बसेका अन्य दुईजनाले निकैबेरसम्म दुर्गा नफर्केपछि खोज्न जाँदा उनलाई गम्भीर घाइते अवस्थामा बाटोमा फेला पारेको बयान प्रहरीलाई दिएका छन् ।

राति नै उपचारका लागि मायामेट्रो अस्पताल पुर्‍याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सँगै बसेका साथीले दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा भेटेको भने पनि परिवारलाई मृत्यु भएपछि मात्र खबर गर्नुले पनि घटना शंकास्पद रहेको महादेवले दाबी गरे । दुर्घटना भएको स्थल, चोटपटकको अवस्था र घटनाको प्रकृति हेर्दा दुर्घटना नभई आफ्नो छोराको हत्या भएको महादेवले बताए ।

‘घटनास्थलमा दुर्घटना भएको कुनै संकेत थिएन । मोटरसाइकलमा कुनै क्षति पुगेको छैन । घाइते अवस्थामा भेट्नेले टाउकोमा हेल्मेट थियो भनेका छन् । तर, पोस्टमार्टम रिपोर्टले टाउको रगत जमेर मृत्यु भएको देखाएको छ,’ उनले भने, ‘यी सबै तथ्य हेर्दा दुर्घटना नभई हत्या गरेर फालेको देखिन्छ, तर प्रहरीले दुर्घटना बनाएर अभियुक्तलाई उन्मुक्ति दिन खोजेको छ ।’ 

घटनाको किटानी जाहेरी लिनसमेत नमान्नुले प्रहरी कसैको दबाबमा रहेर संलग्नलाई उन्मुक्ति दिन लागिपरेको पुष्टि हुने आफन्तको दाबी छ । घटनाको दिन दुर्गासँगै बसेका धनगढी– १३, का कालीप्रसाद भट्ट, गेहेन्द्रप्रसाद भट्ट र नीरज भट्टका नाममा किटानी जाहेर दिन खोजेको ओझाले बताए ।  

जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी लिन नमानेपछि पीडितले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता गर्न खोजेका थिए । तर, जिल्ला सरकारी वकिलको कार्यालयले लिखित निर्देशन दिँदासमेत प्रहरीले पीडित पक्षले दिएको किटानी जाहेरी दर्ता गरेको छैन । सरकारी वकिलको कार्यालयले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै किटानी जाहेरी दर्ता गराउन निर्देशन दिएको थियो । 

सरकारी वकिलको कार्यालयले निर्देशनसहित पत्र पठाउँदा पनि प्रहरीले जाहेरी दर्ता नगरेको पाइएको सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता श्रीराम ओझाले बताए । ‘पीडितको जाहेरी दरखास्त हेर्दा अनुसन्धान गर्नुपर्ने देखिएकाले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न भनेर न्यायाधिवक्ताले जिल्ला प्रहरीलाई जाहेरीसहित पत्र पठाउनुभएको थियो, तर घटनाको फाइल मगाएर हेर्दा किटानी जाहेरी नै दर्ता नभएको पाइयो,’ ओझाले भने, ‘सरकारी वकिलको कार्यालयबाट निर्देशनअनुसारको पत्र गएपछि प्रहरीले अनिवार्य रूपमा जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म जाहेरी दर्ता नगर्नु गम्भीर विषय हो ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भने अभियुक्तविरुद्ध आवश्यक प्रमाणहरू नदेखिएकाले किटानी जाहेरी दर्ता नगरिएको बताएका छन् । प्रहरीले कसैको प्रभावमा काम नगरेको उनले दाबी गरे ।
 

ad
ad