मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७९ कार्तिक २३ बुधबार १५:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यादव र ठाकुर मुख्य प्रतिस्पर्धी, विरासत र स्थानीय मतको टक्कर

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ कार्तिक २३ बुधबार १५:३०:००

प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका नेता जयप्रकाश ठाकुरबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ। जनमत पार्टीका अध्यक्ष डा‍. सिके राउत पनि यही क्षेत्रबाट उम्मेदवार छन् । यादवलाई एमालेको समर्थनले राहत दिए पनि स्थानीय तहको मतअनुसार ठाकुर यादवभन्दा १२ हजार मतले अगाडि देखिन्छन्। 

स्थानीय चुनावको मतअनुसार यादव र ठाकुरबीच प्रतिस्पर्धा छ । जनमत पार्टीका अध्यक्ष डा‍ सिके राउत निकै पछि छन्। अघिल्लोपटक पनि यादवसँग प्रतिस्पर्धा गरेका ठाकुरलाई यसपटक सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ। जसपा अध्यक्ष यादवलाई एमालेले समर्थन गरेको छ।
 
यो क्षेत्रमा कुल मतदाता ९५ हजार ३ सय ९४ छन्। पछिल्लो स्थानीय निर्वाचनमा प्राप्त वडाको मतअनुसार जसपाले १४, ४०३ र एमालेले ५,९५१ मत पाएका छन्। 

कांग्रेसले १०,८०७, लोसपाले १०,२५४, माओवादी केन्द्रले ९ ५३१, एकीकृत समाजवादीले २,४०८ मत पाएका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीले जम्मा ४,५४४ मत पाएको छ।

राउतले पनि यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् तर प्रतिस्पर्धामा उनी निकै पछाडि देखिन्छन्। वडाको मतअनुसार सत्तागठबन्धनका उम्मेदवार ठाकुरको ३२,९८८ छ भने एमाले–जसपा गठबन्धनसँग २०,३५४ मत छ। 

यो क्षेत्रमा राजविराज नगरपालिका तथा महादेवा, छिन्नमस्ता र तिलाठी कोइलाडी गाउँपालिका छन्। स्थानीय तहको निर्वाचनमा २ गाउँपालिकामा लोसपा र १ गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। राजविराज नगरपालिकामा जसपाले जित हात पारेको छ।

कुल ३७ वडामध्ये  जसपाले १३ वडामा अध्यक्ष जितेको छ। माओवादी केन्द्रले ७ वडामा, लोसपाले ६, एमाले र जनमत पार्टीले ३-३, कांग्रेस, एमाले र जनमत पार्टीले २-२ वडाध्यक्ष जितेका छन्। 

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धन र कांग्रेसको समर्थन यादवले पाएका थिए। उनी २१ हजार ६ सय २० मत प्राप्त गरी विजयी भएका थिए। 

यादवका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका थिए। त्यसवेला स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरेर तेस्रो भएका थिए। यसपटक ठाकुरले यादवलाई चुनौती दिएका छन्। 

जसपा अध्यक्ष यादव २०७४ को निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि गरेको कामका आधारमा यसपटक पनि विजयी हुने विश्वास व्यक्त गर्छन्। 

ठाकुर अहिले सत्तागठबन्धनका साझा उम्मेदवार छन्। अहिले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू बलियो रहेको ठाकुर बताउँछन्।  

पुराना राजनीतिज्ञ खुसीलाल मण्डल स्थानीय निर्वाचनको मतका आधारमा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई कमजोर वा बलियो रूपमा आकलन गर्न नहुने बताउँछन्। मधेश विद्रोहको लिगेसीलगायत अन्य विषयले पनि चुनावमा प्रभावित पार्ने उनको आकलन छ। 

‘मधेशमा फेसबुक र इन्स्टाग्रामको बलमा चुनाव जितिँदैन। यसका लागि निश्चित जातीय समूहमा बलियो पकड, बलियो संगठन, बलियो जनमत, जनताको बलियो भरोसा र निश्चित एजेन्डा चाहिन्छ,’ मण्डल भन्छन्। यादवको घर महादेवा गाउँपालिकामा छ भने ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा छ। 

यी तीनबाहेक सप्तरी २ मा नेपाली जनता दलका चन्द्रकुमारी देव, राप्रपाका कैलामंसुरी मियाँ, राप्रपा नेपालका हजरत अली, नेमकिपाका देवनारायण यादव, हाम्रो नेपाल पार्टीका डम्बरनारायण साह, राष्ट्रिय स्वतन्त्र पार्टीका बरुणकुमार झा, पिछडा वर्ग निषाद दलित पार्टीका सुमित्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीका प्रमिलादेवी मण्डल, नेपाली कांग्रेस (बिपी) का डा.चिरञ्जीवीलाल देवसहित ४ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।