मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १४:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संयमित भएर काम गर्न आयोगलाई पूर्वआयुक्तको सुझाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १४:२४:००

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको वेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोहीअनुसारको बोली, वचन र व्यवहार हुनुपर्ने बताएका हुन्। 

निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैँ सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो। 

ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पारे। 

पोखरेलले भने, ‘निर्वाचनमा अप्ठ्यारो पार्ने इलामेन्टसहरू धेरै छन्। हाम्रो आफ्नै बोली, वचन र व्यवहारबाट त्यो परिस्थिति नआओस्। यतिखेर असाध्यै संवेदनशील किनभने सानो एउटा झिक्को भयो भने डढेलो लाग्छ भन्छन् नि। कहीँ हाम्रो बोलाइबाट भनौँ न संयमता, सबभन्दा ठूलो यतिखेर आयोगको शक्ति भनेको संयमता हो। हामीले संयमतालाई ख्याल गरेर हाम्रो आफ्नै कारणबाट अरू भत्किन नपाओस् भनेर विचार गरौँ।’

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले आयोगको ध्यानाकर्षण गराएका थिए। 

उनले शीर्ष नेताहरू उम्मेदवार भएको जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने स्मरण गराए। श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘सेन्सेटिभ एरियाहरू पत्ता लगाएर सुरक्षाको आवश्यक व्यवस्था मिलाउनुपर्दछ। टप लिडरहरू लडेको ठाउँमा विशेष ध्यान दिनैपर्‍यो। साम, दाम, दण्ड, भेद जे पनि अपनाउन सक्ने अवस्था त्यहाँ रहन्छ। त्यसलाई हामीले राम्रोसँग नियाल्नुपर्दछ। अर्को भोटर्स एजुकेसनका कुराहरू पनि छन्। गठबन्धनको कुराले गर्दा यसमा धेरै अप्ठ्यारो अवस्था छ।’

पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबडी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए। उनले सबै निर्वाचनमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्नेमा जाेड दिए। 

गुरुङले निर्वाचन आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने बताए। उनले निर्वाचनमा पठाइएको मतपत्रको अनुगमनको काममा पनि आयोग सचेत हुनुपर्ने गुरुङको भनाइ थियो।

उनले भने, ‘अत्यन्तै संवेदनशील र कठिन हुने भनेको नै मतगणना हो। योचाहिँ ०३३ सालदेखि अहिले ०७९ सालको स्थानीय तह निर्वाचनसम्म हेर्दाखेरि प्रत्येकपटक निर्वाचन आयोगले गरेका सबै निर्वाचनहरूमा मतगणनामा नै गडबडी हुँदै आएको छ। ०७४ मा मतगणना स्थलमा जाली थप गर्नुपर्ने अवस्था आयो। यस विषयमा निर्वाचन आयोगले अत्यन्तै संवेदनशील भएर ध्यान दिनुपर्‍यो।’