मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Friday, 11 July, 2025
२o७९ कार्तिक २१ सोमबार १२:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा, असन्तुष्ट नेताहरूसँग बढाए भेटघाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १२:२o:oo

गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर धनगढी आइपुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। धनगढीस्थित आफ्नै निजी निवासमा बोलाएर देउवाले जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट र छलफल गरिरहेका छन्।

उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर उनले छलफल गरिरहेका कैलाली कांग्रेसका सचिव नृप सुनारले जानकारी दिए। अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका बताइएको छ।

सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका छन्। ‘नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिनुका साथै जिल्लाभरिकै चुनावी अवस्थालाई प्रधानमन्त्रीले चासो लिइरहनुभएको छ,’ सचिव सुनारले भने, ‘चुनावमै केन्द्रित रहेर प्रधानमन्त्रीज्यू कार्यकर्ता छलफलमा व्यस्त हुनुहुन्छ।’

धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (ख) बाट सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन्। क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। ०७० सालमा भएको उपनिर्वाचनमा यहाँ कांग्रेसबाट ओझा विजयी भएका थिए। ०७४ को चुनावमा यही क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई कांग्रेसले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो।

कांग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका छन्। नेकपा एमालेबाट यहाँ प्रतिनिधिसभा सदस्यमा नारदमुनि राना उम्मेदवार छन्। २०७४ को निर्वाचनमा रानाले आरजुलाई हराएका थिए।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन्। धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको स्वकीय सचिव देउवाले नयाँ पत्रिकासँग बताए। उनका अनुसार प्रधानमन्त्री देउवा बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न यहीँबाट जानेछन्।

‘प्रधानमन्त्री आज र भोलि धनगढीमै बस्नुहुन्छ। पर्सि यहीँबाट दार्चुला र बैतडी जाने कार्यक्रम छ,’ स्वकीय सचिव देउवाले भने, ‘धनगढीमा बस्दा कार्यकर्ता भेटघाटबाहेक औपचारिक कार्यक्रम छैन।’ दार्चुला र बैतडीमा हुने गठबन्धनका संयुक्त चुनावी सभालाई सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन् । ०७४ को निर्वाचनमा आरजु यही क्षेत्रबाट उम्मेदवार बनेपछि देउवाले त्यतिवेला धनगढीमा घर किनेका थिए।