१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक १८ शुक्रबार १६:०५:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

सँगै हुँदा टिकटको लडाइँ, छुट्टिएपछि सांसद बन्न भिडन्त

Read Time : > 3 मिनेट
२०७९ कार्तिक १८ शुक्रबार १६:०५:००

प्रतिनिधिसभा सदस्यका लागि पाँचपटक टिकट पाएर चारपटक निर्वाचित भएका पाण्डेलाई पहिलोपटक अवसर पाएका गैरेको चुनौती

प्रतिनिधिसभाका निवर्तमान सांसद सोमप्रसाद पाण्डे ०५१ देखि नेकपा एमालेको उम्मेदवार बन्दै पाल्पा २ बाट लगातार सांसद बने । उनी आगामी निर्वाचनमा पनि प्रतिनिधिसभाका उम्मेदवार छन् । तर, पार्टी फरक छ । लामो राजनीतिक जीवन एमालेमा बिताएका पाण्डे यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार छन् । उनलाई एमालेको युवा विद्यार्थी संगठनको नेतृत्व गर्दै पार्टीको केन्द्रीय राजनीतिमा पुगेर पहिलोपटक टिकट पाएका ठाकुर गैरेले चुनौती दिँदै छन् । अर्थात्, एमालेबाट गैरे उम्मेदवार छन् । यी दुईको भिडन्त रोचक र प्रतिस्पर्धात्मक देखिएको छ । 

पाण्डे र गैरेबीच एमालेमै हुँदा पार्टीबाट टिकट पाउन लडाइँ हुने गरेको थियो, तर यसपटक भने जनताको मन जितेर संसदमा पुग्न प्रतिस्पर्धा हुने भएको छ । पाण्डे एमालेमा हुँदा यसअघिका पाँचपटकको संसदीय निर्वाचनमा अवसर पाएका थिए । उनी एमालेबाट एकीकृत समाजवादीमा गएपछि गैरेले अवसर पाएका हुन् । अहिले उही लामो समय अवसर पाएका पाण्डे र पहिलोपटक अवसर पाएका गैरेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

एमाले भ्रातृ संगठन अनेरास्ववियुको नेतृत्व सम्हाले पनि पार्टी राजनीतिमा लागेर गैरेले जनप्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने मौका पाएका थिएनन् । ०५१ बाटै एमाले उम्मेदवार बनेका पाण्डे एकीकृत समाजवादीका उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । अहिले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाण्डे र एमालेको बलियो संगठन रहेको र इमानदार नेताका रूपमा चिनिएका गैरेबीचको प्रतिस्पर्धाले पाल्पा २ मा चुनावी माहोल तातेको छ । 

पाल्पाका बजार तथा गाउँका चोकचोकमा पाण्डेको झन्डै ३० वर्षमा पाल्पाबाट संसदमा प्रतिनिधित्व गर्दाको उपलब्धिको हिसाब र गैरेको क्षमताको विषयमा बहस भइरहेका छन् । यसअघिका निर्वाचनमा पाण्डेलाई जिताउन मिहिनेत गरेका युवा नेता ठाकुर गैरे यसपटक आफैँले जित हात पार्ने दाउमा छन् । गठबन्धनको साथमा पाण्डे आफ्नो विरासत जोगाउन लागिपरेका छन् । 

तत्कालीन एमालेका नेता माधवकुमार नेपालसँगको पारिवारिक सम्बन्धका कारण पाण्डेले पाल्पामा पटक–पटक अवसर पाएको भन्दै आलोचनासमेत हुने गरेको छ । राष्ट्रिय राजनीतिमा स्थापित र राम्रो छवि बनाए पनि ठाकुर गैरेले भने पार्टीबाट टिकट पाएर प्रतिस्पर्धाको अवसर पाएका थिएनन् । 

गठबन्धनका रूपमा साझा उम्मेदवार बनेका पाण्डेले ०५१ देखि अहिलेसम्म पाँचपटक उम्मेदवार भएर चारपटक विजयी भएर संसद् जाने अवसर पाए । उनी ०६४ मा माओवादीकी उम्मेदवार लीला सोमैसँग मात्रै पराजित भएका थिए । 

के भन्छन् उम्मेदवार ?
एमाले उम्मेदवार गैरेले आफ्नो क्षेत्रमा प्रत्यक्ष रूपमा कांग्रेस, माओवादी, राप्रपाको उम्मेदवार नभएकाले आफू साझा उम्मेदवार रहेको बताउँदै आएका छन् । एकीकृत समाजवादीका पाण्डे भने वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका छन् । एमाले उम्मेदवार गैरेले पाल्पा २ मा आफू पहिलोपटक उम्मेदवार भएको, अहिले जनताले नयाँ अनुहार र परिवर्तन खोजेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । 

‘जनताले हिसाब राखेका छन्, ३० वर्षदेखिका वाचा पूरा भए कि भएनन् भन्ने सम्झेका छन्,’ गैरेले भने, ‘अहिलेका मतदाता विवेकी छन्, सुझबुझपूर्ण ढंगले मतदान गर्छन् ।’
गठबन्धनका उम्मेदवार पाण्डेले अधिकांश विषय सम्बोधन भएको, आफू पुरानो अनुभवी नेता भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । ‘पाल्पाली जनताको पक्षमा संसदमा कुरा उठाई नीतिगत रूपमा सम्बोधन गरेको छु,’ पाण्डेले भने, ‘अपूरा योजना पूरा गर्न मैले जित्नुपर्छ ।’

पाल्पा २ बाट गठबन्धनका पाण्डे, एमालेका गैरेसहित जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापामगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका ताराबहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमई र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी उम्मेदवार छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको मत प्रभाव बढेकाले नेता गैरे र पाण्डेलाई चुनौती थपिएको छ । आफ्नो उम्मेदवार नभएका कारण कांग्रेसले तेस्रो उम्मेदवारलाई मत दिन सक्ने पनि आकलन गरिएको छ । पुराना जनप्रतिनिधिले पटक–पटक अवसर पाउँदा पनि पाल्पाको प्रगतिका लागि उपलब्धिमूलक काम नगरेको गुनासा बढेकाले नयाँ उम्मेदवारमा आशा बढेको देखिएको छ । 

यस्तो छ पाल्पा २ को अंकगणित
पाल्पा २ मा ६ वटा निर्वाचनमा कांग्रेसले ०४८, ०७० गरी दुईपटक, एमालेले ०५१, ०५६, ०७० र ०७४ मा विजय हासिल गरेको थियो । पाँचवटा पालिका रहेको पाल्पा २ मा स्थानीय निर्वाचन ०७४ मा बगनासकाली, रैनादेवीमा कांग्रेस, तानसेन, रिब्दीकोट र तिनाउमा एमालेले विजय हासिल गरेका थिए । स्थानीय निर्वाचन ०७९ मा गठबन्धनले तीनवटा र एमालेले दुईवटा पालिकामा जित हासिल गरेको छ । 

पाल्पा २ का ४४ मध्ये १६ वडामा एमाले र २८ वटा वडामा कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ । गत स्थानीय चुनावमा वडाध्यक्षमा एमालेले ३० हजार पाँच सय ३६ मत पाएको थियो । कांग्रेसले २९ हजार ३९, माओवादीले चार हजार तीन सय १३ र एकीकृत समाजवादीले चार सय ३३ मत र राष्ट्रिय जनमोर्चाले आठ सय ८४ मत पाएका छन् । पालिकाको चुनावको मतको हिसाब गर्दा गठबन्धन अघि देखिन्छ । एकीकृत समाजवादीको आफ्नै मत कम रहेको र पाण्डेलाई कांग्रेसबाट अन्तर्घातको चिन्ता छ । गैरे कांग्रेसको केही मत आफ्नो पक्षमा पारेर जित्ने दाउमा छन् । पाल्पा २ मा एक लाख पाँच हजार दुई सय ९३ मतदाता रहेका छन् । 

एमाले र समाजवादीका जिल्ला कमिटीका पदाधिकारीले जित आ–आफ्नो पक्षमा हुने दाबी गरेका छन् । एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले राष्ट्रिय पहिचान बनाएको, स्पष्ट व्यक्ति, राजनीतिकदेखि विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले एमाले उम्मेदवार गैरेको जित सुनिश्चित रहेको दाबी गरे । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले कांग्रेस, माओवादी, समाजवादी र जनमोर्चाको समर्थनमा रहेकाले पाण्डेको जित निश्चित भएको बताए ।