१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मीनराज बसन्त काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार १२:५१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

ट्विटर ब्लु टिक : अब सित्तैमा कहाँ पाइन्छ  !

Read Time : > 3 मिनेट
मीनराज बसन्त, काठमाडाैं
२०७९ कार्तिक १५ मंगलबार १२:५१:००

लोकप्रिय तथा अधिकांश ‘बौद्धिक सर्कल’ ले प्रयोग गर्ने भनेर चिनिएको सामाजिक सञ्जाल ट्विटरबारे ट्विटरमै हास्यव्यंग्य चेतसहितका विभिन्न टीका–टिप्पणी भइरहेका छन् । साथीभाइबीच चियापसलदेखि अफिसम्म पनि यसले चर्चा पाइरहेको छ । विषय हो, ट्विटरले ब्लु टिक (भेरिफाइड)का लागि मासिक २० डलर शुल्क लिनेबारे । यद्यपि, यसबारे ट्विटरको आधिकारिक धारणा आइसकेको छैन । तथापि बिजनेस टुडेदेखि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने ब्लु टिकका लागि प्रयोगकर्ताले २० डलर तिर्नुपर्ने लेखेका छन् ।

यदि यो अनुमान सत्य भएको खण्डमा माइक्रोब्लगिङ साइट ट्विटरमा प्रयोगकर्ताले सित्तैमा ब्लु टिक पाउनेछैनन् । कतिलाई लाग्न सक्छ, ब्लु टिकले के अर्थ राख्छ ? खासमा ट्विटरले यसरी प्रमाणित (भेरिफाइड) भएको खाता (एकाउन्ट) प्रमाणित हो भन्ने बुझाउँछ । रिपोर्टअनुसार मस्कले ट्विटर प्रयोगकर्ताको प्रमाणित प्रक्रिया परिवर्तन गर्न चाहेका छन् । यसकै लागि अब मन्थली सब्सक्रिप्सन प्लानको सुरुवात गर्ने तयारीसमेत भइरहेको छ ।

विश्वका धनाढ्य एवं टेस्लाका सिइओ मस्कले २७ अक्टोबरमा ट्विटर अधिग्रहण प्रक्रिया पूरा गरे । प्रक्रिया पूरा गरेसँगै ट्विटरको सम्पूर्ण स्वामित्व उनको हातमा आएको छ । कतिसम्म भने उनले स्वामित्व लिएको पहिलो दिनमै ट्विटरका सिइओ पराग अग्रवालसहित शीर्ष चारजना कर्मचारी  बर्खास्त गरे । र, यतिवेला ट्विटरले ब्लु टिकमा पेड सब्स्क्रिप्सन प्लान ल्याउने तयारी गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ट्विटरले ब्लु टिकमा पेड सब्स्क्रिप्सन प्लान ल्याउने तयारी गरिरहेको छ । यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क तिर्नुपर्नेछ 

प्रयोगकर्तालाई ९० दिनको समय
समाचारअनुसार ट्विटरले आफ्ना प्रयोगकर्तालाई नयाँ नीतिअनुसार ब्लु टिक उपलब्ध गराउनेछ । तर, त्यसका लागि प्रयोगकर्ताले मासिक २० डलर शुल्क लिने गरी कम्पनीले काम गरिरहेको छ । यो योजनाअन्तर्गत प्रमाणित प्रयोगकर्ता भनेर देखिने ब्लु टिक पाउन वा गुमाउन ९० दिनको समय हुनेछ ।

मासिक पाँच डलर सब्स्क्रिप्सन
केही दिनअघि ट्विटरका मालिक मस्कले सामाजिक सञ्जालमार्फत ट्विटरको भेरिफिकेसन प्रोसेस (प्रमाणीकरण प्रक्रिया)लाई नयाँ रूप दिन लागिएको बताएका थिए । समाचारअनुसार यदि यो योजना अगाडि बढ्ने हो भने ब्लु टिकका लागि करिब पाँच डलरमा सब्स्क्राइब गर्नुपर्ने हुन्छ । अन्यथा आफ्नो भेरिफिकेसन ब्याज गुमाउनुपर्नेछ ।

अकाउन्ट रिस्टोरेसनमा काउन्सिलको निर्णय
मस्कका अनुसार उनी बन्द गरिएका ट्विटर अकाउन्ट पुनः रिस्टोर गर्न चाहन्छन् । तर, सबै अकाउन्ट रिस्टोर भने हुने छैनन् । यसका लागि पहिले रिभ्यु गरेपछि रिस्टोर गर्ने–नगर्नेबारे निर्णय हुनेछ । यसका लागि मस्कले ट्विटरमा कन्टेन्ट मोडरेसन काउन्सिल बनाएका छन् । यही काउन्सिलले बन्द (ब्यान्ड) गरिएका अकाउन्ट रिभ्यु गरेपछि रिस्टोरेसन गर्ने–नगर्ने फैसला लिनेछ ।

मस्कले ट्विटर नै किन किने ?
मस्कले ट्विटर किन्नुको योजना ट्विटमार्फत नै सार्वजनिक गरेका छन् । २७ अक्टोबरमा उनले केही लेखिएका दुई टेक्स्ड–पिक्चर ट्विट गरेका छन् । जसमा भनिएको छ, ‘मैले पैसा कमाउन ट्विटर किनेको होइन । बरु मलाई मन पर्ने मानवीय सहयोग गर्न किनेको हुँ ।’

मस्क–ट्विटर मुख्य घटना 
ट्विटर खरिद प्रक्रिया मस्कका लागि त्यति सजिलो भइदिएन, जति उनले सोचेका थिए । सुरुमा ट्विटर खरिदका लागि ठूलो रकमको बोली लगाए । पछि कम्पनीले ट्विटरलाई जबर्जस्ती टेकओभर गर्न सक्ने शंकासमेत कम्पनीले नगरेको होइन । यसबाट बचाउन ‘पोइजन पिल’ (जबर्जस्ती टेकओभर गर्नबाट बचाउने एउटा नीति)को सहारासमेत लिनुपरेको थियो । जतिवेला ट्विटरमा मस्कको नाै प्रतिशतभन्दा बढी सेयर थियो, त्यतिवेला उनले आफ्नो खरिद योजना असफल भए आफ्नो लगानीलाई नयाँ तरिकाले सोच्ने बताएका थिए ।

नेपालमा पनि सरकारी कार्यालय, मिडिया हाउसदेखि व्यक्तिगत ट्विटर अकाउन्ट भेरिफाइड छन् । व्यक्तिगत अकाउन्टमा ब्लु टिक लाग्नु घुमाउरो पारामा प्रतिष्ठाको विषयसमेत बनेको छ । तर, अब के सबैले मासिक २० डलर तिर्लान् ? प्रश्न उठ्न थालेको छ ।

ट्विटर इन्क सञ्चालक समिति र मस्कबीच ४४ अर्ब डलरमा किन्ने सम्झौता भएपछि बीचमा उनी पछि हटे । यसरी पछि हट्नुको कारण ट्विटरले नक्कली र स्पाम खाताहरूको संख्याबारे जानकारी नदिएको भन्ने थियो । तर, कम्पनीले सम्झौताबमोजिमको मर्जर पूरा गर्न माग गर्दै डेलावेयर अदालतमार्फत कानुनी लडाइँ सुरु गर्‍याे ।

गत मार्चमा मस्कले ट्विटरमा एउटा सर्वेक्षण चलाए । त्यसमा उनले आफ्ना फलोअर्ससँग ट्विटरले फ्री स्पिचलाई प्रोटेक्ट गर्छ कि गर्दैन भनेर सोधेका थिए।

यस्तै अप्रिलमा ट्विटरको सेयर किन्ने खुलासा गरेसँगै ९.२ प्रतिशत सेयर किनी ठूला स्टेकहोल्डर बने । यसैबीच कम्पनीले उनलाई बोर्डमा सहभागी हुने दाबी गरेको थियो । तर, मस्कले यो अफर लत्याए । त्यसपछि नै उनले कम्पनी टेकओभर गर्न सक्ने अनुमान लगाउन थालिएको थियो ।

फाइदा के ?
नेपालमा पनि सरकारी कार्यालय, मिडिया हाउसदेखि व्यक्तिगत ट्विटर अकाउन्ट भेरिफाइड छन् । व्यक्तिगत अकाउन्टमा ब्लु टिक लाग्नु घुमाउरो पारामा प्रतिष्ठाको विषयसमेत बनेको छ । तर, अब के सबैले मासिक २० डलर तिर्लान् ? प्रश्न उठ्न थालेको छ । एक भेरिफाइड प्रयोगकर्ताका अनुसार ट्विटरमा ब्लु टिक हुनु लज्जाको विषय बन्ने देखिएको छ । सामान्य प्रयोगकर्ताले हेर्दा डलर तिरेर ब्लु टिक पाएको सन्देश जान्छ ।

‘मासिक २० डलर तिरेबापत ट्विटरले के सुविधा दिन्छ ?’ उनले प्रतिप्रश्न गरेका छन्, ‘कुनै सुविधा हुँदैन भने ब्लु टिकको अर्थ पनि रहँदैन । यस्तै अब कसका लागि ब्लु टिक दिने भनेर पहिले क्याटेगोरी छुट्याएझैँ अब कसरी छुट्याउँछ ?’

यसअघि ट्विटरले सरकारी कार्यालय, समाचार संस्था, पत्रकार, कम्पनी, ब्रान्ड र संस्था, मनोरञ्जन, खेलकुद, अभियन्ता आदिको श्रेणी छुट्याएर प्रक्रिया पूरा भएपश्चात् ब्लु टिक दिने गरेको थियो । तर, मासिक २० डलर तिरेपछि यसले कसरी वर्गीकरण गर्छ, यो विषय ट्विटरकै गर्भमा छ ।