मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक १५ मंगलबार ०६:२२:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

पिपिए दर चित्तबुझ्दो नभएपछि सोलार प्लान्टमा आकर्षण घट्दै

सोलार प्लान्ट बनाउन आउने आवेदन नगण्य छ : विद्युत् विकास विभाग

Read Time : > 3 मिनेट
२०७९ कार्तिक १५ मंगलबार ०६:२२:००

सौर्य ऊर्जा आयोजना (सोलार पावर प्लान्ट)मा लगानीकर्ताको आकर्षण कम हुन थालेको छ । सोलार राख्न आवश्यक जग्गाको महँगो मूल्यांकन तथा विद्युत् खरिद–बिक्री सम्झौता दर (पिपिए रेट) कम भएको भन्दै निजी लगानीकर्ताको आकर्षण सौर्य ऊर्जामा घट्न थालेको हो । विद्युत् खरिद गर्ने एक मात्र निकाय नेपाल विद्युत् प्राधिकरणले गत फागुनमा प्रतिस्पर्धामार्फत अधिकतम प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसामा सौर्य ऊर्जाको बिजुली किन्ने निर्णय गरेको थियो । सो दरप्रति निजी क्षेत्रले चित्त बुझाएका छैनन् । 

प्राधिकरणले तोकेको दरमा विद्युत् बिक्री गर्दा आयोजना सञ्चालन र ऋणको ब्याज तिर्नसमेत कठिन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । यो विषयमा सरकारले थप निर्णय गरेको छैन । सोही कारण सोलार प्लान्ट बनाउने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

सोलार प्लान्ट आयोजनाका लागि प्रतियुनिट सात रुपैयाँ ५० पैसा पिपिए दर तोक्नुपर्ने उनको भनाइ छ । ‘हामीले लगानी गरेपछि पक्कै पनि प्रतिफल खोज्छौँ, यो स्वाभाविक नै हो । तर, प्राधिकरणले तोकेको दर (५.९४ रुपैयाँ)मा पिपिए गर्दा प्रतिफल पाउने सम्भावना देखिएन । ऋणको ब्याजसमेत तिर्न गाह्रो हुने देखियो,’ उनले भने, ‘त्यसमाथि जग्गाको मूल्य पनि महँगो छ । तसर्थ, अहिले हामी सोलार प्लान्ट बनाउने मामलामा पर्ख र हेर अवस्थामा छौँ । पिपिए दर प्रतियुनिट ७.५० रुपैयाँ हाराहारी निर्धारण गरेमा हामी उत्साहका साथ सोलार प्लान्ट बनाउन तयार छौँ ।’

हामी पर्ख र हेरको अवस्थामा छौँ
कृष्णप्रसाद आचार्य, अध्यक्ष, इप्पान

हामीले लगानी गरेपछि पक्कै पनि प्रतिफल खोज्छौँ, यो स्वाभाविक नै हो । तर, प्राधिकरणले तोकेको दर (५.९४ रुपैयाँ)मा पिपिए गर्दा प्रतिफल पाउने सम्भावना देखिएन । ऋणको ब्याजसमेत तिर्न गाह्रो हुने देखियो । त्यसमाथि जग्गाको मूल्य पनि महँगो छ । तसर्थ, अहिले हामी सोलार प्लान्ट बनाउने मामलामा पर्ख र हेर अवस्थामा छौँ ।

यसअघि पनि सोलार पावर प्लान्टका लागि प्राधिकरणले पिपिए दर प्रतियुनिट सात रुपैयाँ ३० पैसा निर्धारण गरेको थियो । त्यसवेला सोलार पावर प्लान्टमा व्यवसायीहरूको आकर्षण उच्च थियो । तर, पछिल्लो समय सोलार पावर प्लान्टमा आकर्षण नदेखिएको विद्युत् विकास विभागका एक उच्च अधिकारीले बताए । ‘पहिला सोलार पावर प्लान्टमा ऊर्जा व्यवसायीहरूको आकर्षण उच्च थियो । तर, अहिले त्यससम्बन्धी आउने आवेदन पनि नगण्य मात्रामा छ,’ उनले भने, ‘गत फागुनमा सोलार पावर प्लान्टका लागि पिपिए दर घटाइएको छ । साथै, जग्गाको मूल्य पनि बढेको छ । सोही कारण सोलार पावरमा आकर्षण कम भएको हुन सक्छ ।’

  विद्युत् विकास विभागबाट प्राप्त सोलार पावर प्लान्टसम्बन्धी तथ्यांकले पनि यही पुष्टि गर्छ । विभागमा पछिल्लोपटक १२२.९ मेगावाट क्षमताका १२ वटा सोलार पावर प्लान्ट बनाउन सर्वेक्षणका लागि आवेदन परेको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासमा एउटा मात्रै आवेदन परेको छ । ७.५ मेगावाटको तुल्सी सोलार पावर प्लान्ट बनाउन भदौमा आवेदन परेको छ ।

  यस्तै, प्राधिकरण पनि सोलार प्लान्टका लागि पिपिए खुलाउने पक्षमा नदेखिएको इप्पानका अध्यक्ष आचार्यको भनाइ छ । ‘प्राधिकरणले सोलार प्लान्टका लागि पिपिए दर तोकेको लामो समय भयो । तर, अझै पनि त्यसका लागि बिडिङ खुलाइएको छैन,’ उनले भने, ‘त्योअनुसार प्राधिकरण सोलार प्लान्टप्रति त्यति सकारात्मक छैनजस्तो छ । त्यसले गर्दा पनि हामी व्यवसायी उत्साहित छैनौँ ।’

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले सोलार प्लान्टका लागि पिपिए खुलाउने विषयमा तत्काल कुनै काम नभएको बताए । ‘सोलार पावर प्लान्टका लागि पिपिए खुलाउने विषयमा तत्काल केही काम भएको छैन,’ उनले भने, ‘प्राधिकरणले जहाँ पायो, त्यही ठाउँको सोलार प्लान्टसँग पिपिए गर्दैन पनि । हामीले तोेकेको निश्चित ठाउँ र निश्चित रेटमा प्रतिस्पर्धामार्फत पिपिए गर्ने हो । तर, त्यसअनुसारको सोलार प्लान्ट बनेको पनि देखिँदैन । त्यसैले पनि यसमा थप निर्णय भएको छैन ।’ यस्तै, सोलार प्लान्टको महत्व र अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पिपिए दर निर्धारण गरिएको उनको भनाइ छ ।

पिपिए खुलाउने काम भएको छैन 
 सुरेश भट्टराई, प्रवक्ता, विद्युत् प्राधिकरण

सोलार पावर प्लान्टका लागि पिपिए खुलाउने विषयमा तत्काल केही काम भएको छैन । प्राधिकरणले जहाँ पायो, त्यही ठाउँको सोलार प्लान्टसँग पिपिए गर्दैन पनि । हामीले तोेकेको निश्चित ठाउँ र निश्चित रेटमा प्रतिस्पर्धामार्फत पिपिए गर्ने हो । तर, त्यसअनुसारको सोलार प्लान्ट बनेको पनि देखिँदैन । त्यसैले पनि यसमा थप निर्णय भएको छैन ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल भने सोलार प्लान्टको पिपिए दर कम भएको गुनासो नआएको बताउँछन् । ‘सोलार प्लान्ट बन्ने क्रम जारी छ । तर, अहिलेसम्म यसका लागि तोकिएको पिपिए दर कम भयो भन्ने गुनासो व्यवसायीबाट आएको छैन,’ उनले भने, ‘समग्रमा सोलार प्लान्टमा प्रगति राम्रो नै छजस्तो लाग्छ ।’ 

सोलार पावर प्लान्ट बनाउन प्रशस्त जग्गा चाहिन्छ । तर, जग्गाको मूल्य बढ्दै गएको छ । त्यसमाथि प्रसारण लाइनको सुविधा पनि पर्याप्त मात्रामा छैन । प्रसारण लाइन भएको ठाउँमा जग्गा छैन भने जग्गा भएको ठाउँमा प्रसारण लाइन नहुने समस्या छ । त्यसकारण पनि सोलार प्लान्टमा आकर्षण कम भएको व्यवसायीहरू बताउँछन् । 

 लक्ष्यअनुसार सोलार प्लान्ट सञ्चालनमा आउने संकेत 
सरकारले ०७५ मा ल्याएको ऊर्जा श्वेतपत्रमार्फत कुल विद्युत्मा सोलारको हिस्सा १० प्रतिशत बनाउने लक्ष्य लिएको छ । विभागको पछिल्लो तथ्यांक हेर्दा उक्त लक्ष्यअनुसार विद्युत् उत्पादन हुने देखिन्छ । अहिले विद्युत्को जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट छ । तर, त्यसमा सोलारको हिस्सा १० प्रतिशत छैन ।  अध्ययन र निर्माणका चरणमा रहेका आयोजनाहरू सञ्चालनमा आएमा लक्ष्यअनुसार सोलार प्लान्ट सञ्चालनमा आउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।  

तथ्यांकअनुसार अहिले १२३८.७ मेगावाट क्षमताका ४३ आयोजनाले सर्भेको लाइसेन्स लिएका छन् । यस्तै, १३३.५६ मेगावाटका २१ आयोजना निर्माणको चरणमा छन् । साथै, १२२.९ मेगावाट १२ आयोजनाले सर्वेक्षणको आवेदन दिएका छन् । यसबाहेक झन्डै २५ मेगावाट क्षमताका ५ वटा सोलार प्लान्ट सञ्चालनमा छन् । त्योअनुसार एक हजार पाँच सय १९ मेगावाट क्षमताको सोलार प्लान्ट बन्ने देखिन्छ । सरकारले ०८५ भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने भनेको छ, त्यसमा सोलारको हिस्सा १० प्रतिशत अर्थात् एक हजार पाँच सय मेगावाट हुने भनिएको छ । अहिले अध्ययन र निर्माणमा रहेका सबै आयोजना बनेमा लक्ष्यअनुसार विद्युत् उत्पादन हुने मन्त्रालयको भनाइ छ ।