Skip This
चालू आवमा ७३० झोलुंगे पुल निर्माणको लक्ष्य 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ कार्तिक १३ आइतबार o९:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चालू आवमा ७३० झोलुंगे पुल निर्माणको लक्ष्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार o९:३१:oo

गत आर्थिक वर्ष (आव) ०७८/७९ मा नेपालभर पाँच सय ९४ वटा झोलुंगे पुलको निर्माण भएको छ । अहिले नेपालभर सञ्चालनमा रहेका झोलुंगे पुलको संख्या नौ हजार सात सय ६७ पुगेको स्थानीय पूर्वाधार विभागको तथ्यांक छ । विभागका तुइन तथा झोलुंगे पुल महाशाखाका प्रमुख प्रवेश रेग्मीले गत आर्थिक वर्षमा पाँच सय ९४ झोलुंगे पुल निर्माण भएको बताए । 

‘स्थानीय पूर्वाधार विभाग स्थापना भएको पनि केही वर्ष मात्रै भएको छ । त्यसअनुसार पहिलेका वर्षमा के–कति झोलुंगे पुल बने, त्यसको वार्षिक तथ्यांक हामीसँग छैन । गत वर्ष झन्डै ६ सय पुल बनेका छन्,’ उनले भने, ‘त्यसलाई हामीले सन्तोषजनक नै मानेका छौँ ।’ 

यस्तै, विभागले चालू आवमा देशभर सात सय ३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त योजना कार्यान्वयनको चरणमा समेत पुगेको महाशाखा प्रमुख रेग्मीले बताए ।

‘हामीले दैनिक दुई (वार्षिक ७३०) झोलुंगे पुल निर्माण गर्ने लक्ष्यसहित काम गरेका छौँ । यद्यपि, यसको हालसम्मको प्रगतिबारे तथ्यांक संकलन भने भइसकेको छैन,’ उनले भने । स्थानीय तह, प्रदेश संघ तथा स्थानीय पूर्वाधार विभागका गरेर सोबराबरको पुल बनाउन लक्ष्य लिएको उनको भनाइ छ । 

८०० पुलको डिपिआर तयार
विभागका अनुसार थप आठ सयवटा नयाँ झोलुंगे पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्यसमा एक सय १० वटा पुलको निर्माण गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । डिपिआर तयार भएका अन्य झोलुंगे पुल निर्माणका लागि ठेक्का लगाउने तयारी भइरहेको विभागको भनाइ छ ।

खोइ भत्केका पुल ? 
यस्तै, विभागले भत्केका तथा प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका झोलुंगे पुलबारे पनि अध्ययन नगरेको देखिएको छ । धेरै वर्षपहिले बनेका पुल अहिले प्रयोग नगर्ने अवस्थामा पुगेका छन् । कतिपय झोलुंगे पुलहरू बाढीले समेत बगाएको पाइन्छ । तर, विभागले त्यस सम्बन्धमा कुनै पनि अध्ययन गरेको देखिएको छैन । फलस्वरूप त्यसको ठाउँमा नयाँ पुल बनाउने काम अन्योलमा परेको सरोकारवाला बताउँछन् । 

झोलुंगे पुलसम्बन्धी विभागको योजना
विभागले अब झोलुंगे पुल बनाउन विस्तृत रूपमा राष्ट्रिय नम्स, मापदण्ड तथा गाइडलाई बनाउने बनाएको छ । साथै, जटिल प्रकृतिको तथा नवीनतम प्रविधिका झोलुंगे पुल निर्माण गर्न अध्ययन गर्ने पनि बताइएको छ ।

कति पुल चाहिन्छ भन्ने अध्ययन नै छैन
नेपालमा थुप्रै खोलानाला, नदी छन् । यस्तो अवस्थामा सर्वसाधारणको पैदल यात्रा सहज र सुरक्षित बनाउन झोलुंगे पुलको महत्व छ । तर, नेपालमा कति झोलुंगे पुल वा मान्छे हिँड्ने पुल चाहिन्छ भन्ने विषयमा अझै अध्ययन भएको छैन । विभागका एक उच्च अधिकारीले यस सम्बन्धमा कुनै अध्ययन नभएको बताए । साथै, नेपालमा यति संख्यामा मान्छे हिँड्ने पुल चाहिन्छ भनेर पनि अनुमान नगरिएको, तर स्थानीयको मागअनुसार झोलुंगे पुल बनाइँदै गइएको उनको भनाइ छ । सरकारले पहिले नै पुल नभएका कारण आधा घन्टासम्म हिँड्नुपर्ने खोलामा झोलुंगे पुल बनाउने योजना ल्याएको थियो । हाल सोहीअनुसार पुल बनाउने काम पनि भएको छ । तर, कति पुल चाहिन्छ भन्ने विषयमा अध्ययन भएको छैन ।