१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ कार्तिक १३ आइतबार ०८:०९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं ६ : ०७० र ०७४ मा लगातार चुनाव जितेका प्रधानलाई पूर्वआइजिपी खनालको चुनौती

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ कार्तिक १३ आइतबार ०८:०९:००

१५ वर्षयताका तीनवटा निर्वाचन हेर्दा काठमाडौं ६ सँग एमालेको चुनावी अनुभव त्यति सुखद देखिन्न । यो निर्वाचन क्षेत्रबाट एमाले युवा नेता योगेश भट्टराईले दुईपटक निर्वाचन हारे । तत्कालीन एमाले–माओवादी गठबन्धनबाट उठेका झक्कु सुवेदीले पनि हार व्यहोर्नुपर्‍यो । 

विगतका यिनै नमीठा विरासतमा उभिएर यतिवेला नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनाल सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । उनले यसपटक कांग्रेसका नेता भीमसेनदास प्रधानलाई चुनौती दिँदै छन् । उनीसँग एमालेका भट्टराई र माओवादीका सुवेदी दुवैलाई हराएको अनुभव छ । 

०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रधानले भट्टराईलाई हराएका थिए । त्यसवेला प्रमुख दलबीच कतै गठबन्धन थिएन । ०७४ मा प्रधानले वामगठबन्धनका सुवेदीलाई पराजित गरेका थिए । अहिले तिनै प्रधानलाई चुनौती दिन एमालेबाट पूर्वआइजी खनाल चुनावी मैदानमा छन् । 

प्रधान सत्तागठबन्धनका साझा उम्मेदवार पनि हुन् । त्यसैले निर्वाचन जित्न खनालका लागि सहज भने छैन । ‘हो, काठमाडौं ६ का विगतका निर्वाचन एमालेका निम्ति सुखद रहेन । यसपछि आ–आफ्नै कमजोरी थिएन होलान् । तर, यसपटक हामी त्यसो हुन दिन्नौँ । निर्वाचन जित्छौँ । हामी मतदाताकहाँ पुगेका छौँ । एमालेप्रति उनीहरूको क्रेज छ । एमालेले उठाएका राष्ट्रिय एजेन्डामा उनीहरूको समर्थन छ,’ खनालले भने ।

निर्वाचन आयोगका अनुसार काठमाडौं ६ मा कुल मतदाता ६२ हजार एक सय दुई छ । ०७४ को निर्वाचनमा पनि प्रधानले विपक्षी उम्मेदवार सुवेदीलाई १६ हजार सात सय ८५ मत ल्याएर हराएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त वडाध्यक्षको मतपरिणाम हेर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १६ हजार तीन सय ४३ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवारले १४ हजार तीन सय तीन मत ल्याएका थिए । एमालले सात र कांग्रेसले नौवटा वडा जितेका छन् । माओवादीले ती वडामा दुई हजार एक सय ३२ मत ल्याएको छ । गठबन्धन भएकाले कांग्रेस उम्मेदवार प्रधानलाई माओवादी मत जाने देखिन्छ । 

यतिवेला निर्वाचन प्रचार–प्रसारमा व्यस्त रहेका प्रधान स्थानीय तहको निर्वाचनमा प्राप्त मत निर्वाचन जित्ने एउटा आधार भएको ठान्छन् । ‘स्थानीय तहमा प्राप्त मत विश्लेषण गर्दा हामी निर्वाचन जित्छौँ । निर्वाचन क्षेत्रमा पर्ने अधिकांश वडामा हामीले जितेका छौँ । गठबन्धनको मत पनि यसमा ‘प्लस’ हुन्छ । एमाले र हाम्रो मात्रै मत हेर्दा पनि हामी अगाडि छौँ । काठमाडौं ६ मा यसपटक मेरो ‘ह्याट्रिक’ हुनेछ,’ उनले भने ।

तर, मत ‘ब्यालेट बक्स’मा नखसेसम्म जनमतको कुनै ‘ग्यारेन्टी’ भने हुन्न । विगतका निर्वाचनले पनि यो तथ्यलाई पुष्टि गरेको छ । उदाहरणका लागि ०७४ कै प्रदेशतर्फको मतपरिणामलाई लिन सकिन्छ । काठमाडौं ६ (क) तर्फका एमाले उम्मेदवार केशव स्थापितले आठ हजार २२ र (ख)बाट उठेका एमालेकै उम्मदेवार योगेन्द्रराज संग्रौलाले १२ हजार आठ सय १२ मत ल्याएर चुनाव जिते । जब कि यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका उम्मेदवार सुवेदीले १५ हजार चार सय ८५ मात्रै मत ल्याएका थिए । यसलाई आधार मान्दा एमालेको मत यो क्षेत्रमा २० हजारभन्दा धेरै रहेको देखिन्छ । तर, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा त्यस्तो देखिएन । 

एमाले उम्मेदवार खनाल पनि यसलाई स्वीकार गर्छन् । ‘स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम हेर्दा निश्चय पनि गठबन्धनको पक्षमा केही धेरै मत देखिन्छ । तर, जनता कसैका पेवा होइनन् । यो जता पनि बहन सक्छ । यसका लागि एजेन्डा चाहिन्छ, त्यो हामीसँग छ । त्यसैले स्थानीय निर्वाचनको मत हामीतर्फ ‘स्विइङ’ हुनेछ,’ उनले भने ।

तीन दशक प्रहरी सेवामा बिताएका खनालका निम्ति पार्टी राजनीति नयाँ हो । जसरी एउटै आदेशबाट प्रहरी संगठनमा आबद्ध सुरक्षाकर्मीलाई तरंगित बनाउन सकिन्छ, पार्टी संगठनमा आबद्ध कार्यकर्ता र मतदाता तरंगित पार्न त्यही सूत्र प्रभावकारी नहुन सक्छ । किन कि प्रहरी संगठनभन्दा भिन्न छ, पार्टी संगठन र त्यसमा आबद्ध कार्यकर्ता । मदताता त अझ फरक विषय हुन् । उनका प्रतिस्पर्धी उम्मेदवार प्रधान भने राजनीतिक प्राणी हुन् । शिक्षण पृष्ठभूमिका उनलाई पार्टी संगठनले चिन्दछ । उनको ‘डेडिकेटेड’ कार्यकर्ता पंक्ति छन् । मतदातासँग उनको घुलमिल धेरै छ । 

‘होला मेरा प्रतिस्पर्धी व्यावसायिक रूपमा अब्बल थिए होलान् । तर, त्यो राजनीतिमा काम लाग्दैन । मलाई पार्टी कार्यकर्ताले चिनेका छन् । मतदाताको दुःख–सुखमा म सधैँ खटिने मान्छे । म यहीँकै स्थानीय पनि हुँ । यो ठाउँ छाडेर म कतै जान्न,’ खनालले भने । काठमाडौं ६ बाट दुईपटक उम्मेदवार हुँदा एमाले नेता भट्टराईले सधैँ ‘बाहिरिया’को ‘ट्याग’ झेल्नुपर्‍यो । प्रतिस्पर्धीले पनि उनीविरुद्ध सधैं सोही हतियार प्रयोग गरे । अन्ततः उनी निर्वाचन क्षेत्र नै बदलेर ताप्लेजुङ पुगे । यो समस्या सुवेदीले पनि झेले । तर, खनालले यो ‘ट्याग’ भट्टराई र सुवेदीले जसरी झेलिरहनुपर्दैन, किनकि उनी काठमाडौंकै रैथाने हुन् । उनी तनहुँमा जन्मिएका हुन् । 

काठमाडौं ६ का निम्ति खनाल नयाँ हुन् । तर, उनका प्रतिस्पर्धी प्रधान दुईपटक विजयी भइसकेका छन् । अहिले ‘नो नट एगेन’ भन्ने अभियान चलेको छ । यो अभियानले खनाललाई केही नगरे पनि प्रधानका लागि भने असर गर्न सक्छ । किनभने दुई–दुईचोटि सांसद बनेर कुनै उल्लेख्य काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ । तर, राजनीतिक विश्लेषक भास्कर गौतम काठमाडौं ६ मा ‘नो नट अगेन’ले खासै प्रभाव नपार्ने बताउँछन् । गठबन्धनका उम्मेदवार प्रधान विवादमा नतानिएका र खनाल ‘अलरेडी टेस्टेड’ दलबाटै उम्मेदवार भएको हुँदा ‘नो नट अगेन’ अभियानले खासै प्रभाव नपार्ने उनको तर्क छ । 

निर्वाचन आयोगको तथ्यांक हेर्दा अन्य निर्वाचन क्षेत्रमाझैँ काठमाडौं ६ मा पनि स्वतन्त्र उम्मेदवारको बाढी नै लागेको देखिन्छ । निर्वाचनमा उठेका २४ जना उम्मेदवारमध्ये सातजना स्वतन्त्र छन् । चर्चित पपगायक सञ्जय श्रेष्ठ पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । काठमाडौं ६ मा राप्रपाले आफ्नो छुट्टै उम्मेदवार चुनावी मैदानमा उतारेको छ । 

२४ उम्मेदवार प्रतिस्पर्धामा
भीमसेनदास प्रधान (कांग्रेस), सर्वेन्द्र खनाल (एमाले), सनकमान महर्जन (नेमकिपा), विष्णुप्रसाद आचार्य (राप्रपा), अजित खड्का (विवेकशील साझा पार्टी), मनोज आचार्य (जसपा), तारा रसाइली (राष्ट्रिय जनमुक्ति पार्टी), राजेन्द्र खनाल (नेपाल आमा पार्टी), महेश्वर कार्की (राप्रपा नेपाल), शिशिर  खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी), कमल न्यौपाने (मौलिक जरोकिलो पार्टी), काजी कार्की (एकीकृत शक्ति नेपाल), मुकुन्द सिलवाल (हाम्रो नेपाली पार्टी) ।

स्वतन्त्र उम्मेदवारहरू
सञ्जयमान श्रेष्ठ, राजेश श्रेष्ठ (मास्के), सानुकान्छा महर्जन, खगेन्द्र ढकाल, प्रेमसागर कर्माचार्य, विष्णुप्रसाद ढकाल, जनकराज थपलिया, बलबहादुर केसी, किरण इङनाम, निर्देश सिलवाल, दिपु उप्रेती ।