मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २२ बिहीबार
  • Thursday, 08 December, 2022
२०७९ कार्तिक १२ शनिबार १८:५९:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

भंगाहामा भड्किएकाे हिंसा : इन्ताजले हात गुमाए, अरूले के पाए?

Read Time : > 2 मिनेट
२०७९ कार्तिक १२ शनिबार १८:५९:००

महोत्तरीको भंगाहा– ८ मा बिहीबार साम्प्रदायिक दंगा फैलियो। हिंसामा सर्वसाधारण, प्रहरी गरी दर्जनौँ घाइते भए। प्रशासनले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाई फायर र कर्फ्यु लगायो। 

भंगाहा नगरपालिका– ८ पररियाका १९ वर्षीय इन्ताज राइन लोहारपट्टीस्थित श्री गेरुकी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छन्। उनी जनकपुरस्थित अमेरिकन कम्प्युटर सेन्टरमा समेत कम्प्युटर कोर्स गर्दै छन्।

उनी हिंसा भड्किएको दिन (गत बिहीबार) जनकपुरबाट कम्प्युटर कक्षा सकेर टेम्पोबाट घर जाँदै थिए। गाउँमा हिंसाले चरम रूप लिएको थियो। टेम्पो गाउँमा जाने वातावरण नभएपछि उनी पैदलै घर आउँदै थिए। एक्कासि प्रहरीले चलाएको गोली इन्ताजको हातमा लाग्यो। 

गोलीले उनको हात छियाछिया परिसकेको थियो। दुःखाइ असह्य भयो। उनलाई एम्बुलेन्स बोलाउँदा र अस्पतालसम्म पुर्याउदा झन्डै एक घन्टाभन्दा बढी समय बितिसकेको थियो। जनकपुरस्थित दैविक अस्पतालमा भर्ना गरिएका इन्ताजको हात नै काट्ने निर्णय भयो। अन्ततः उनको हात काटियो। 

हाल उनी सोही अस्पतालको आइसियूमा उपचाररत छन्। राम्रो पढेर, कम्प्युटर सिकेर अगाडि बढ्ने उनको सपना, कम्प्युटरका किबोर्डमा हात चलाउने चाहनामा ब्रेक लागेको छ। न त कलम समातेर आफ्नो कक्षाको उत्तरपुस्तिकामै उनी केही लेख्न सक्छन् अब। उनको यो अवस्था दुई समुदायबीच भएको झडपले निम्त्याएको हो। 

यता लोहारपट्टी नगरपालिका- ४ खुट्टा बस्ने ४२ वर्षीय मोमिज राइन घर जाने क्रममा बगडा चोकमा अज्ञात समूहको आक्रमणमा परे। उनको टाउकोमा कुनै धारिलो वस्तुले प्रहार गरियो र उनी तत्काल ढले। हतपत उनलाई अस्पताल लगियो। धारिलो हतियारले हान्दा चिरिएको टाउको र सहन नसक्ने दुःखाइले उनलाई सही नसक्नुको पीडा दिएको छ। 
टाउकोमा १० टाँका लागेका मोमिज संयोगले बाँचे। दंगामा यी दुईबाहेक अनेकौँ व्यक्तिलाई चोटपटक लागेको छ। केहीको टाउको फुटेको छ, कसैको खुट्टामा चोट लागेको छ। 

महोत्तरीका डिएसपी चन्देश्वर यादवको हातमा पहिले नै स्टिल लागेको थियो। सोही हातमा इँटाको प्रहारबाट थप क्षति पुगेको छ। झडपमा उनीसहित प्रहरीका सात र सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित चारजना घाइते भएका छन्। 

यता अर्को पक्ष भनिएको हिन्दु सम्राट सेनाका संयोजक राजेश यादवसमेत घाइते भएका छन्। उनले आफूसहित हिन्दु सम्राट सेनाका दर्जनाैँ युवा घाइते भएको बताए। 

दंगा चल्दै गर्दा हिन्दु सम्राट सेनाले प्रयोग गरेको सवारीसाधन पूर्ण रूपमा तोडफोड भएको छ। साथै, अन्य रोकेर राखेका सवारीसाधन र स्थानीयका घरमा तोडफोड भएका छन्। 

सुरक्षाकर्मीको सक्रियता, प्रशासनको कर्फ्युले तत्कालका लागि स्थिति त नियन्त्रणमा आयो। तर, हिंसाले दर्जनौँ प्रश्न उब्जाएको छ। के दंगा हुनु आवश्यक थियो ? दोष कसको ? कसले उकास्यो ? के यो राजनीतिक षडयन्त्र हो ? 

यसको जवाफ निश्चय पनि गृह मन्त्रालयले बनाएको छानबिन समितिले छानबिन गरेपछि दिने नै छ। तथापि, स्थलगत अध्ययन, स्थानीयहरूको भनाइ, प्रहरी प्रशासन तथा अन्य विभिन्न सरोकारवालाको कुरा र सामाजिक सञ्जालमा आएका सामग्रीका आ-आफ्नै आकलन, विश्लेषण छन्। 

हिन्दु सम्राट सेना नामक समूहले हिन्दुवादी नारा लगाउँदै भंगाहा नगरमा नगर परिक्रमा गर्ने उद्देश्यले कलशयात्रा(र्याली) निकालेको देखिन्छ। उक्त र्याली पररिया चोकमा आइपुग्दा सो चोकमा रहेको गोलम्बरमा हनुमान र राम अंकित झण्डा राख्न खोजेको देखिन्छ। गोलम्बरमा पहिलेदेखि मुस्लिम समुदायले आफ्नो झण्डा लगाएर राखेका थिए। यही झण्डा राख्ने विषय दंगाको कारण बन्यो। 

दुई पक्षबीचको अडान, अहमता र धर्मप्रतिको गलत बुझाइले झडपको रूप लियो। तर, दंगाको सुरुवात यही घटना मात्र नभएको स्थानीय बताउँछन्। केही समयअघि वैदेशिक रोजगारीबाट फर्केका एक युवाले आफू पुनः वैदेशिक रोजगारीमा जान लाग्दा घरमा राखेको अष्टजाम पूजामा बजेको बाजा अर्को समुदायले बन्द गराउन लगाएको घटना नै दंगाको कारण भनेर पनि स्थानीय बताउँछन्। 

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा समेत यो कुरा उठेकै छ। साथै, सोही ठाउँमा एक जग्गाको विवादसमेत रहेको बैठकमा चर्चा भएको थियो । 

यता दीपावलीको अवसरमा गाउँमै लक्ष्मीको प्रतिमा राखिएको र सो प्रतिमा बिसर्जन गर्न लाग्दा अवरोध भएको विषयसमेत सर्वदलीय बैठकमा चर्चा भएको थियो। घटना वास्तवमै यिनै कारण र घटनाहरूको प्रतिक्रिया हो वा अन्य केही लुकेका तथ्यहरू छन् यो भने छानबिन समितिले केलाउनेछ। यसको दीर्घकालीन समाधान नखोज्ने हो भने गाउँमा रोपिएको साम्प्रदायिक भावनाले भने जुनसुकै वेला हिंसाको रूप लिन सक्छ। 

पररिया हिन्दु र मुस्लिम दुवै समुदायका मानिस बसोबास गर्ने ठाउँ हो। मिथिला माध्यमिकी परिक्रमासमेत यही बाटो भएर गन्तव्यतर्फ जाने गरेकोले यहाँ हिन्दु र मुस्लिमबीचको वर्षौँको अगाध सम्बन्ध पूर्ववत् अवस्थामा पर्किनुपर्छ। धार्मिक सहिष्णुताको अनुपम उदाहरणको रूपमा रहेको पररिया गाउँ हरेक वर्ष मिथिला माध्यमिकी परिक्रमाविना कुनै बाधा अवरोध सोही बाटो भएर यात्रा गर्नुले प्रस्ट पार्छ। यहाँसम्म कि हरेक वर्ष सो स्थलमा हिन्दु मुस्लिम दुवै समुदाय परिक्रमा यात्रीको स्वागतमा हर्षित हुने गरेका छन्। 

दुवै समुदायबीच सद्भाव र भाइचाराको सम्बन्धले बाँधिएको पररियामा यो घटना इतिहासको ‘कालोदिन’का रूपमा मात्रै रहोस्। सरकारले घटनाका दोषी पत्ता लगाएर कडा कारबाही गर्ने व्यवस्था गरेर दुई समुदायबीच चिसिएको सम्बन्ध पुरानै अवस्थामा फर्कियोस्। स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र राजनीतिक दलले यसमा अहम् भूमिका निर्वाह गरून्।