१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Friday, 05 July, 2024
श्रवण थापा सर्लाही
२o७९ कार्तिक ७ सोमबार १६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

गुल्जार छ सीमापारि, सुनसान नेपालवारि 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १६:o८:oo

शुभ–दीपावली र छठको पूर्वसन्ध्यामा सीमापारिका भारतीय बजारहरू नेपाली उपभोक्ताले भरिभराउ भएका छन् । नेपाल–भारत सीमासँगै जोडिएका दर्जनौँ भारतीय बजार यतिवेला गुल्जार बनेका छन् । 

ती बजारमा मधेसमा विशेष महत्वका साथ मनाइने दीपावली (दिवाली) तथा छठका लागि आवश्यक सरसामान किन्न नेपाली उपभोक्ताको घुइँचो देखिन्छ । अन्य समयमा सामान्य किनमेल हुनसमेत धौधौ हुने ती बजार नेपाली उपभोक्ताका लागि नै लाग्ने गरेको अनुमान गर्न कठिन पर्दैन ।

सीमाक्षेत्रका ग्रामीण सडकमा पनि भारतका विभिन्न बजारबाट सामान किनेर फर्किएकाको लाइन लाग्ने गरेको छ । बाटो तथा खेतका गरा र आलीमा समेत अटाइनअटाई नेपाल फर्कंदै गरेको लर्को देखिन्छ । 

तर, यति नै वेला नेपालका बजारहरू भने सुनसान छन् । नेपालका व्यापारी रामस्वगारथ दाशले पानमसलाबाहेक केही बेच्न नसकेको बताए । ‘कति त पानसमेत भारत पुगेर खान्छन्,’ उन्ले भने, ‘भारतीय बजारमा सस्तो सामान पाइन्छ भन्ने भ्रममा परेर धेरै नेपाली पारि जाने गरेका छन् । तर, यथार्थ त्यस्तो होइन ।’

सस्तोको नाममा कैयाैँपटक भारतीय बजारमा आफू ठगिएको उनले सुनाए । ‘पैसा तलमाथि भएकोले केही सस्तोजस्तो लागे पनि उनीहरूले पनि विभिन्न सामानमा थपेर बराबरी बनाइदिन्छन् । सस्तो पाइने आसमा धेरैपटक हामी ठगिएका छौँ,’ उनले सुनाए, ‘अरूको देश अरूकै कानुन के गर्नु ? यसै ठगिएर फर्कनुपरेको छ ।’

अर्का स्थानीय हरिकृष्ण मण्डलले मधेसका कतिपय नेतासमेत मर्निङवाक गर्दा गर्दै उतै पुगेर झोलाझोलामा आवश्यक सामान लिएर फर्कने गरेको बताए । ‘नेतादेखि सर्वसाधारणले भारतीय बजार नै रोजेपछि यहाँका साना व्यापारी कसरी टिक्छन् ?’ उनले प्रश्न गरे । 

हरिकृष्णको विचारमा स्थानीय शिक्षक हमरेन्द्र सिंह पनि सहमत छन् । ‘यहाँका नागरिकले नेपालमा कमाएको पैसा नेपालमा कसरी खर्च गर्छन् भन्ने कहिले सोचेका छैनन्,’ उनले भने । 

मधेस आन्दोलनपछि खस्किएको सीमाक्षेत्र तथा जिल्लाका कोर मधेसमा रहेका बजारको व्यापार अझै उठ्न नसकेको स्थानीय व्यापारीहरूको भनाइ छ । त्यसपछि लामो समय कोरोना लकडाउनको समयमा सीमा सिल रहेको अवस्थामा स्थानीय बजार केही चलायमान भएका थिए । त्यसपछि फेरि सीमा सुचारु भएपछि अवस्था उस्तै भएको स्थानीय व्यापारीहरूको भनाइ छ । 

 

 

ad
ad
ad
ad