
गुल्मी २ मा सत्तारूढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका नेता डा. दामोदर भुसालले झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका छन् ।
आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेसभित्र लोकतन्त्रको लडाइँ लडेको, तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाब थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको भुसालले बताए ।
उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले डा. दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रूपमा लिन आग्रह गरे । त्यस्तै, मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले तमाम कार्यकर्ताहरूको अपार माया र समर्थन रहेका भुसालले कार्यकर्ताको अनुरोध स्वीकार गर्नु महान् कार्य भएको भन्दै धन्यवाद दिए ।
डा. भुसालको उम्मेदवारी फिर्ताले आफूहरूको जित सुनिश्चित भएको गुल्मी क्षेत्र नम्बर २ का गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीको दाबी छ । डा. भुसाललाई धन्यवाद दिँदै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको बताए ।